- काठमाडौं ,भदौ २१ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
कुनै बेला जागिरको लागि राम्रो विकल्प मानिएको नेपाल प्रहरीमा अहिले भने जागिर छोड्नेको लर्को लाग्न थालेको छ । पछिल्लो समय प्रहरी संगठनमा जागिर छोड्नेको तथ्यांकले भने अब विगतको आकर्षण नरहेको देखाएको हो ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार अहिले दैनिक सात जनाको औसतमा जागिर छोड्ने गरेको देखिन्छ । पछिल्लो ३ वर्षमा मात्रै ७ हजार ७ सय १४ जनाले प्रहरीबाट जागिर छाडेका छन् ।
यसरी जागिर छोड्ने हवल्दार र असईको संख्या सबैभन्दा बढी रहेको छ । यसरी जागिर छोड्नुको कारणबारे भने अहिले आमरुपमा चर्चा चल्न थालेको छ।
संगठन भित्र पदोन्नतीको अवसरको अभाव, असहज ड्युटी तालिका, न्युन सुविधा आदि जस्ता कारणले जागिर छोड्ने क्रम बढेको प्रहरीका उच्च अधिकारीहरु बताइरहेका छन् ।
आर्थिक वर्ष ०७४/७५ मा दुई हजार ५६४ जनाले सेवाबाट राजीनामा दिए । ०७४/७५ मा राजीनामा दिनेमा तीनजना डीआइजी थिए । दुई डीएसपी, ८ इन्सपेक्टर, १०४ सई, ३०७ असई, १८०२ जना हवल्दार, ३०७ जना प्रहरी जवान । ३१ जना कार्यालय सहयोगी गरी २५ सय ६४ जनाले राजीनामा दिए । यो आर्थिक वर्षमा प्रहरी दरबन्दी ७२ हजार थियो ।
आर्थिक वर्ष ०७५/७६ मा यो संख्या बढेर तीनहजार ७३ पुगेको छ । ०७५/७६ मा कुल प्रहरी दरबन्दी ७५ हजार ९२७ थियो । यो समयमा ३ हजार ७३ जनाले जागिर छाडे । जसमा एसपी ३ जना, डीएसपी ६ जना, इन्सपेक्टर १५ जना, सई ९९ जना, असई ३५७ जना, हवल्दार २०८२, जवान ४२९ र प्रहरी कार्यालय सहयोगी ८२ गरी ३ हजार ७३ जनाले राजीनामा दिए ।
आर्थिक वर्ष ०७६/७७ मा प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सयको हाराहारीमा छ । १२ हजार दरबन्दी हाल रिक्त छ । यो अवधिमा २ हजार ७७ जनाले जागिर छाडे । जसमा डीआईजी एकजना थिए । यसबाहेक एसपी १ जना, डीएसपी ३ जना, इन्स्पेक्टर ११ जना, सई १२९ जना, असई ३२३ जना, प्रहरी हवल्दार १३ सय २७ जना, प्रहरी जवान २३४ जना र प्रहरी कार्यालय सहयोगी ४८ गरी २ हजार ७७ जनाले जागिर छाडे । आव ०७६/७७ मा कोरोना महामारी सुरु भएपछि प्रहरीमा राजीनामा स्वीकृत गरिएको थिएन । कोरोना महामारी नभएको भए यो संख्या बढ्ने निश्चित थियो ।
जागिर छोड्नेहरुले प्राय: पेन्शन पाकेपछि जागिर छोड्ने गरेको पाइएको छ । ती जागिर छोड्नेहरुको प्रमुख छनोटमा भने स्वदेश तथा विदेशमा सेक्युरिटी गार्डको जागिर पर्ने गरेको छ । विदेशमा आकर्षक तलब हुने भएकाले उनीहरुले जागिर छाड्ने गरेको पाइए पनि तालिमप्राप्त जनशक्ति निरन्तर बाहिरिनु राज्यकै लागि हानि हुने प्रहरी अधिकारीहरु बताउँछन् । १६ देखि १८ वर्षमै पेन्सन लिन पाइने भएकाले पनि जागिर छाड्नेको संख्या बढेको हो ।
सिनियर प्रहरी अधिकृत भने बढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगको बेमेलका कारण संगठनबाट राजीनामा दिँदै आएका छन् ।
एक प्रहरी तयार पार्न २ देखि ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । जागिर अवधि सकिएलगत्तै राजीनामा दिँदा त्यसको प्रत्यक्ष प्रभाव संगठनमा समेत देखा पर्छ । राज्यले लगानी गरेर तयार पारेका प्रहरीले यो दरमा जागिर छोड्नेक्रमलाई नियन्त्रण गर्नका लागि पहलको आवश्यक देखिइसकेको छ ।
पछिल्लो समय जागिर छोड्नेको संख्या बढेसँगै प्रहरी संगठनले यसबारे सोच्नुपर्ने जानकारहरु बताउँछन् । सेवासुविधा र संगठनात्मक संरचनामा सुधार गरेर जागिर छोड्ने दरलाई नियन्त्रण गर्नुपर्ने उनीहरुको विचार छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !