- विराटनगर ,भदौ १६ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
सुनसरीका कोरोना संक्रमित मध्ये ५३ दशमलव ९ प्रतिशत पूर्ण रुपमा स्वास्थ भएर घर फर्किएका छन ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार भदौ १५ गतेसम्मको प्राप्त रिपोर्ट अनुसार जिल्लाको कुल संक्रमितको संख्या ७ सय ६ रहेको छ ।
सुनसरीमा २१ हजार ८ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला बाहिर स्वाब संकलन गरिएका मध्ये सुनसरी घर ठेगाना भएका ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार धरानका ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । सुनसरीमा भदौ १५ गतेसम्ममा ३ सय ४६ जनाले कोरोना जितेका छन् ।
लिङथेपका अनुसार सुनसरीमा कोरोना संक्रमितको निको हुने दर ५३ दशमलव ९ प्रतिशत रहेको छ । जिल्लामा स्वाब संकलन गरिएको संख्याका आधारमा उक्त रिपोर्ट तयार पारिएको लिङथेपले जानकारी दिइन् । उनका अनुसार प्रति एक हजार जनसंख्याको शुन्य दशमलव ७९ प्रतिशतमा कोरोना देखिएको छ । मृत्युदर भने शुन्य दशमलव ७८ प्रतिशत रहेको छ ।
सुनसरीमा सबैभन्दा बढी संक्रमित धरानमा रहेका छन् । धरानमा १ सय ६४ संक्रमित मध्ये ५ जनाले ज्यान गुमाएका छन् । ९२ जना निको हुँदा धरानमा एक्टिभ केसको संख्या ६७ रहेको छ । कार्यालयका अनुसार पीसीआर परीक्षणको अनुपातमा जिल्लाको संक्रमित दर भने ३ दशमलव २२ प्रतिशत रहेको छ ।
इटहरीमा एक्टिभ केसको संख्या ८० रहेको छ । इटहरीमा कुल संक्रमितको संख्या १ सय ३७ रहेको छ । त्यसैगरी बराहक्षेत्रमा १६ जना संक्रमित मध्ये १२ जना निको भएका छन् । इनरुवाका ५५ जना पोजेटिभ मध्ये १५ जना निको हुँदा ४० जना आइसोलेसनमा छन् ।
त्यसैगरी दुहवीमा कुल संक्रमितको संख्या १ सय २७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दुहवीका ४३ जनाले कोरोना जितेका छन् । दुहवीमा एक्टिभ केसको संख्या ८४ रहेको छ ।
यस्तै रामधुनीमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । त्यहाँका २१ जना निको भैसकेका छन् । कोशी गाउँपालिकामा अहिले सम्म ४० जना संक्रमित रहेका छन् । सो मध्ये २४ जना निको हुँदा १६ जना आइसोलेसनमा छन् । दक्षिणवर्ती गाउँपालिका हरिनगरका ३४ संक्रमित मध्ये २० जना निको भएका छन् भने बाँकी आइसोलेसनमा छन् ।
यसैगरी भोक्राहा नरसिंहमा २५ जनामा संक्रमण पुष्टि हुँदा त्यहाँका १८ जना निको भएका छन् । देवानगञ्जमा २२ जना संक्रमित रहेका छन् । जसमध्ये १५ जना निको हुँदा अन्य आइसोलेसनमा छन् । गढी गाउँपालिकाको २४ कोरोना पोजेटिभ मध्ये ७ जना निको हुँदा १७ जना आइसोलेसनमा रहेका छन् । त्यसैगरी सुनसरीको बर्जुमा अहिले सम्म ३४ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये १७ जना निको भएका छन् भने बाँकी आइसोलेनमा रहेका छन् ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार जिल्लामा संचालनमा रहेका संस्थागत आइसोलेसनमा बसेकाको संख्या २ सय ५७ छ । संक्रमित मध्ये १ सय ३ जना भने स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा बसेका छन् ।
प्रसाईका अनुसार आइसोलेसनमा रहेका संक्रमित सबैको अवस्था अहिले सम्म सामान्य छ । प्रसाईका अनुसार सुनसरीमा कोरोना संक्रमित थपिदै गएका छन् । यद्यपि संक्रमित भएकाहरु मध्ये निको हुनेको संख्या समेत बढ्दो क्रममा छ ।
प्रसाईले भने, ‘कोरोनाको जोखिम दिनानुदिन बढ्दो क्रममा छ । त्यसैले सामाजिक दुरीसहितको स्वास्थ्य सावधानी अपनाउन नभुल्नुहोस । कोरोनाबाट बच्ने उपाय सावधानी नै हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !