- सुनसरी ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
धरान स्थिति बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा उपचाररत रहेका धरान उपमहानगरपालिकाका एकै परिवारका आमा छोराको आइतवार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
धरान १७ निवासी ७४ बर्षीया आमा र ६० वर्षिय छोराको उपचारको क्रममा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
मृतक दुवै जनालाई शनिवार राति साढे ८ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । ७४ बर्षीया आमामा अत्याधिक खोकी, श्वास फेर्न समस्या, एक हप्तादेखि ज्वरो आएको थियो । अस्पतालमा ल्याउँदा उनको अवस्था गम्भीर भइसकेको र कोरोना आशंका गरी स्वाब परीक्षण गर्दा आइतवार कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
यसैगरी छोरा ६० बर्षियमा पनि श्वास फेर्नमा समस्या, अत्यधिक खोकी र १० दिनदेखि ज्वरो आएको थियो । उनको पनि आइतवार बिहान कोरोना पोजेटिभ पुष्टि भएको थियो । छोराको बिहान ७ः४५ बजे र आमाको बिहान ८ः३७ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।
छोरामा मधुमेहको दिर्घरोगी र केही महिनादेखि कलेजोमा समस्या देखिएको थियो भने आमामा मधुमेह र उच्च रक्तचाप रहेको थियो ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा मृतकको घर धरान १७ पुगेर परिवारका अन्य सदस्यहरू लगायत १३ जनाको स्वाब लिएको स्वास्थ्य प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार परिवारका अरू केही सदस्यहरूमा केही दिनदेखि ज्वरो आइरहेको छ ।
यो सँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !