- लहान,भदौ १४ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
सिरहाको नरहा गाउँपालिका वडा नम्बर -४, ललभितियास्थित एक महिलाले आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् ।
नरहा गाउँपालिका वडा नम्बर – ४ ललभितियाका रामभरोस यादवकी अन्दाजी २५ बर्षीया बुहारी रेखा कुमारी यादवले झुण्डिएर आत्महत्या गरेकी हुन् । मृतक रेखाको शव पोष्टमार्टमपछि दाहसंस्कारको लागि ललभितिया लगिएको प्रहरीले जनाएको छ ।
सासु, ससुरा र देवरसँग अलग भई रेखा एक्लै बस्दै आएकी थिइन् । उनका पति वैदेशिक रोजगारीमा खाडी मुलुक गएको छन्। पति वैदेशिक रोजगारीमा गएको र घरमा एक्लो बस्न थालेकी रेखाले सामाजिक व्यवहारलाई बेवास्ता गर्दै आफ्नै तवरले मनोपोली गरेको आरोपमा विभिन्न समयमा पटकपटक सामाजिक रुपमा छलफल गरिएको गाउँलेहरुले बताएका छन् ।
पछिल्लोपल्ट गाउँका अरुलाई लगाएर रेखाले आफ्नो खेतको घाँस कटाइन् । आफ्नै घरमा घाँसको आवश्यकता हुँदाहुँदै अरुलाई लगाएर घाँस नकटाउन ससुराले रेखालाई सम्झाई-बुझाई गर्न प्रयास गर्दा समान्य भनाभन भएको श्रोतको भनाई छ । घाँस कटाएको विषयलाई लिएर भएको समान्य भनाभनलाई साम्य पार्न गाउँका केही व्यक्तिहरुको रोहवरमा छलफल गर्न ‘बैसार’ (बैठक) भएको थियो ।
छलफल गर्न बैसारमा बसेकाहरुलाई इंगित गर्दै रेखाले आफू मरेर भए पनि गाउँका केही व्यक्तिलाई फसाई छाड्ने चुनौती दिएर बैसार स्थलबाट निस्केको प्रत्यक्षदर्शीहरुको दाबी छ । बैसार सकिएको केही घण्टा नबित्दै रेखाले घरभित्र बसेर चुकुल लगाएको हल्ला चलेपछि प्रहरीलाई खबर गरिएको स्थानीयहरुले बताएका हुन् ।
रेखालाई ललभितियाका केही व्यक्तिले हत्या गरेको भनी माइती पक्षले किटानी जाहेरी दिँदै ललभितियाको घर पुगेर हुलहुज्जत गर्न प्रयास गरेपछि होहल्ला गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । माइती पक्षको हुलहुज्जत तथा आक्रमक शैलीलाई प्रहरीले नियन्त्रणमा लिएर ठुलो दुर्घटनाबाट जोगाएको गाउँलेहरुले बताएका छन् ।
झुण्डिएर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) विनोद घिमिरेले जानकारी दिनु भयो । उनका अनुसार कानूनी प्रक्रिया पुर्याएर दाहसंस्कारका लागि शव परिवारजनलाई जिम्मा दिइएको छ पोष्टमार्टमको विशेष रिपाेर्ट नआएसम्म घटनाबारे विस्तृत कुरा बताउन सकिँदैन ।
घटनालाई तोडमराेडो गरेर राजनीतिक इगो साध्नका लागि गाउँका केही पार्टीका नेतृत्व पंक्तिका व्यक्तिले विपक्षी पार्टीका व्यक्तिलाई फसाउन प्रयास समेत गरेको स्थानीयहरुले दाबी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !