- काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
- जनप्रभाब / सम्बादाता
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्व नै क्रियाशील बनेको छ । हालसम्म कोभिड नाइन्टिनको खोप प्रमाणित हुन सकेको छैन । तर, शक्ति राष्ट्रहरु खोपको परीक्षणमा लागिपरेका छन् ।
रुसले त खोप आन्तरिकरुपमा प्रयोगमै ल्याएको दाबी गरेको छ भने चीन पनि खोपको प्रभावकारिता नजिक रहेको बताउँदै आएको छ ।
विश्वका वैज्ञानिकहरु यतिवेला कोराना भाइरस विरुद्ध खोप विकासका लागि जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार हालसम्म एक सय ७० भन्दा बढी वैज्ञानिकहरु खोप विकासमा लागिपरेका छन् ।
रुस, चीन, वेलायतको अक्सफोर्ड विश्वविद्यालय, अमेरिका लगायतका मुलुकहरु खोपको परीक्षणमा छन् । कतिपय मुलुक त खोप किन्ने होडमा पुगिसके ।
नेपाल के गर्दैछ ?
स्वास्थ्य अधिकारीहरुले नेपालमा कोरोना भाइरसका तीन वटा खोपहरुको चाँडै परीक्षण सुरु हुन सक्ने बताएका छन् । ती खोपहरुको परीक्षण अनुसन्धानको विश्वव्यापी मापदण्डहरु पालना गरेर मात्र सुरु हुने सरकारी अधिकारीहरुको भनाइ छ ।
नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षण हुन लागेको हो । खोपका लागि नेपालले प्रारम्भिक छलफल मात्र गरेको छ । खोपको प्रारम्भिक खर्च उत्पादकले नै व्यहोर्ने र जसलाई खोप लगाइन्छ, उसको अनुमतिमा मात्र हुने गरी छलफल अघि बढेको अधिकारीहरुको भनाइ छ ।
रुसले विकास गरेको खोपः
रुसले विकास गरेको खोप अगस्टदेखि नै सुरुमा स्वास्थ्यकर्मी र अक्टोबरदेखि सर्वसाधारणलाई दिइने बताइएको छ । नेपालमा पनि परीक्षणका लागि रुस सकारात्मक बनेको छ ।
तर, मानव परीक्षणको दुई महिनाभित्रै ल्याइएको ‘स्पुतनिक–५’ नामक उक्त खोपको सुरक्षा र प्रभावकारिताबारे भने कतिपय वैज्ञानिकहरूले शंका गरेका छन् ।
चीनले परीक्षण गर्दै गरेको खोपः
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–नाइन्टिन) अहिले त्यहाँ नियन्त्रणमा आएको छ । तर, चीनले खोपको विकासमा तीव्रता दिएको छ । विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन् ।
चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार चीनले खोपको पहिलो प्राथमिकतामा नेपाल, अफगानिस्तान, पाकिस्तान र फिलिपिन्सलाई पनि राखिने आश्वासन दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !