Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लक डाउन



  • काठमाडौं ,भदौ १० गते बुधबार ।।
  • लेखक – गोपाल चन्द्र भट्टराई


मानौँ कि यो चराचर जगतलाई चञ्चल र चलायमान बनाउने श्रृष्टिकर्ता आफैले केही समय स्थिर रहने उर्दी जारी गरेका छन्, चारैतिर लकडाउन छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, सामाजिक सञ्जाल सबैको एक मुख भएको छ, घरैमा रहौँ।

ठूला ठूला नेता, सेलिब्रिटी, विद्वत व्यक्ति, घरकी आमा, श्रीमती सबैको अनुरोध छ- केही समय बाहिर ननिस्कौँ। मानव इतिहासमै पहिलो पटक केही नगरी, निस्कृय, अकर्मण्य बसेर समाज र राष्ट्रको उच्चतम सेवा गर्ने अवसर प्राप्त भएको छ। कोरोनाको कहरले विश्चव्यापी नयाँ सिद्धान्तहरु एवम् नयाँ मानवीय व्यवहार र शैलीहरुको प्रवर्तन गरेको छ। कैयौँ प्रचलित धारणा र विचारहरुलाई पुनः परिभाषित गरेको छ।

मलाई भने लकडाउन कस्तो हुँदो रहेछ भनेर घर बाहिर निस्कने, टोल बजार घुम्ने र यसले उत्पन्न गरेको एक प्रकारको सेन्सेसन, रोमाञ्चकता एवम् रुमानी प्रभाव अनुभूत गर्ने हुटहुटिले छोएको छ। ‘भान्जाबाबु, यस्तो बेला किन बाहिर?’ भनेर माइजूले रोक्दारोक्दै ‘एकैछिनमा आइहाल्छु’ भन्दै म घरको गेट बाहिर निस्किहालेँ।

छिमेक, टोल हुँदै अलिपर चोकमा पुग्दा अरु पनि थुप्रै रमितेहरु उत्सुक भएर वरपरको गतिविधि अवलोकन गर्दै गरेका पाइए। म अझै केही परसम्म गएँ। अर्को चोकमा दृष्य अलि भिन्न रहेछ। लकडाउन सम्बन्धी सरकारी आदेश लागू गराउन प्रहरीहरु खटिएका रहेछन् यहाँ। म अलि परै बसेर यो दृष्य हेर्न थालेँ।

प्रहरीहरु बडो सक्रिय देखिन्थे, असिन पसिन हुँदै बडो मिहेनत गरिरहेका थिए। प्रहरीले सानो हाते माइकबाट सर्वसाधरणलाई लकडाउनको बेला पालना गर्नुपर्ने नियमहरु बारे जानकारी गराएको, सरकारी आदेशको उल्लंघन गर्ने व्यक्तिहरुलाई हुने कानुनी कारबाही बारे सचेत गराएको, त्यती गर्दा गर्दै पनि आदेश नमान्नेहरुलाई बीच सडकमा उठबस गराउँदै गरेको र यदा कदा केही उदण्ड व्यक्तिहरुलाई लाठी समेत हान्दै उक्त स्थानबाट भगाएका दृष्यहरु बडो दिलचस्प थिए।

मैले धित मरुञ्जेल उक्त रमिता हेरेँ। विस्तारै प्रहरीहरु अन्य चोक र टोलहरु समेतमा फैँलदै गएको आभास पाएर केही समयपछि म पनि प्रहरी कारबाहीमा परिने डरले हतार-हतार घरतिर लम्किएँ।

मोबाइल मैले घरमै चार्जमा राखेको थिएँ। आएर हेर्छु त मनिषाको पाँच वटा मिस्डकल रेकर्ड भएको रहेछ। के परेछ त्यस्तो भनेर म उसलाई फोन गर्न लागेको थिएँ, उसैको फोन आयो।

‘हेलो, के छ?’

‘फोन चाहिँ उठाउनु पर्दैन? नउठाउने भए किन राखेको त्यो ठाँडो, फ्याँकिदिनु नि।’

‘हैन स्वर त कडा पो छ त, के भयो हो त्यस्तो?’

‘हुँदैन त कडा, यहाँ आफूलाई कस्तो आपत परेको छ। मेरो पिरियड रोकियो।’

‘के हो पिरीयड भनेको? परीक्षा रोकियो भनेको? त्यो त मलाई पनि थाहा छ नि, रोकिएर के भो त, झन पढ्ने टाइम पाइयो।’

‘हरे, म के गरुँ, यस्ता त मान्छे छन्! पिरियड भनेको मेन्सुरेसन, मेरो मिन्स रोकियो भनेको, बुझ्नु सुझ्नु छैन, त्यसै।’

एकछिन त मैले तात्पर्य नै बुझिनँ ‘मिन्स रोकिए मैले के गर्नु त!’ जस्तो लाग्यो। तर विद्युतीय झड्का जस्तो जब यसको अर्थ दिमागमा सञ्चारित भयो, म त उभिएकै स्थानमा ‘फ्रिज’ भएँ। पूरै जडा स्थिर। मैले टेकिराखेको भुइँ फननन घुमेको जस्तो लाग्यो। म थचक्क नजिकैको सोफामा बसेँ।

‘ला, हो र? अब के गर्ने होला नि! होइन कि, कहिलेकाहीं ढिलो पनि हुन्छ होला नि।’ मैले झिनो आशाको त्यान्द्रो समातेर आपतको विपुल भेलबाट किनारा लाग्ने कोशिस गरेँ।

‘होइन, आज सात दिन भइसक्यो, यती ढिलो कहिल्यै हुँदैनथ्यो।’ रुन पो थाली मनिषा। मेरो ओठ मुख सुक्यो। म केही बोल्न खोज्दै थिएँ, मामा भित्रबाट निस्किनु भो। मैले हतारमा ‘ल, म एकछिनमा फोन गर्छु’ भनेर फोन काटिदिएँ।

‘अनि कस्तो रैछ त लकडाउनको असर बाहिर तिर? अबदेखि जरुरी काम नपरी ननिस्कनु है घरबाट’ मामाले भन्नुभो।

मेरो दिमागमा धेरै वटा रंगी-विरंगी बत्तिहरु एकैपटक बल्दै निभ्दै गरेको हो कि, सयौँ चराहरुले चर्को स्वरमा कङ्ल्याङ कुङ्लुङ्ग गरेको हो कि के हो के भाको जस्तो भयो। मामासँग यती सहज कुराकानी अगाडि बढाउन पनि मसँग शब्दै नभएको जस्तो भयो।

मैले अन्योलमा मामा तिर हेरेर बेढंगले ङिच्च हाँसे र केही नबोली तुरुन्तै अर्को कोठातर्फ गएँ।

कोठामा बेडमा डङरङ्ग पल्टेँ। कसैले निसास्सिने गरी घाँटी पक्रेको जस्तो पनि लाग्छ, छातीमा हेम्मानको ढुंगाले थिचे जस्तो पनि लाग्छ। छट्पटी जस्तो लागेर फेरि जुरुक्क उठें। सुइँ-सुइँ सिगरेट तानौ जस्तो लाग्यो, एकमुठी सुपारी मुखमा हालेर गड्याम गड्याम चपाउँ जस्तो लाग्यो।

म बेसुरमा उठेर कोठाको एक छेउबाट अर्को छेउ हिड्न पो थालेछु। माइजूले चिया लिएर कोठैमा आउँदा पो थाहा पाएँ र सम्हालिएँ।

‘भोक लागेको छ? केही खाने हो’? माइजूले सोध्नुभो।

मैले चिया समाउँदै माइजूसँग नजर बचाएर ‘छैन’ भने।

चिया पिइसके पश्चात म हतार हतार घरको छतमा गएँ र मनिषालाई फोन लगाएँ।

‘अब अर्को उपाय छैन, अबोर्सन गर्नु पर्छ। तिमी यसो गर न, कुनै तरिकाले कसैलाई थाहा नदिइकन लालबन्दी आऊ, त्यहाँ भएन भने बर्दिबास जाऊ, अस्पताल मेडिकलहरु खुल्लै हुन्छन्,गएर अबोर्सन गराऊ’ मैले बडो बुझ्झकी बनेर समस्याको समाधान प्रस्तुत गरेँ।

‘लाज लाग्दैन त्यसो भन्न? म एक्लै जान सक्छु त्यस्तो ठाउँमा? मलाई के थाहा, काहाँ जानु, कसलाई भेट्नु, के गर्नु, के भन्नु। एक्लै जा अरे, भन्न पनि कसरी सकेको’ मनिषा फेरि सुँकसुँक गर्न थाली। म चुप भएँ। उसले फेरि भनी, ‘तपाईं तुरुन्तै आउनु, भोलि नै।’

‘ल हेर, के भनेकी होला! कसरी आउनु यो लकडाउनको बेला? गाडी मोटरसाइकल केही चलेको छैन, पुलिसले बाटोमा मान्छेहरुलाई हिड्न पनि दिँदैन।’

‘मलाई थाहा छैन, जसरी भएपनि आउनु। अर्काकी छोरीलाई अभर पारेर…।’ ऊ त मजैले पो थाली अब त।

‘जसरी भए पनि आउनु भन्दैमा हुन्छ? कसरी आउनु? नचाहिँदो कुरा।’ म झर्किएँ।

‘ल नआउनु न त त्यसो भए, म पनि झुन्डिएर मर्दिन्छु, अनि तपाईलाई पनि ढुक्क हुन्छ’ मनिषा झन् ठूलो स्वरमा रुन थाली र एकैछिनमा फोन नै काटिदिई।

मेरा कान राता भए, आत्तिएँ एक किसिमले म। साँच्चै अहिले नै पो झुण्डिन जान लागी कि के हो भन्ने डरले म हड्बडाएँ र हत्तपत्त फोन गरेँ।

‘ल चुप लागेर बस, म के गर्न सक्छु विचार गरौलां। त्यहाँ धेरै रोइकराइ गर्ने होइन, घरमा थाहा पाउलान् अनि फेरि अर्को आपत आइलाग्ला। म भोलि फोन गर्छु…।’ मैले फकाएँ। ऊ बल्ल बल्ल सम्हालिई।

‘भाञ्जाबाबु, खाना खाने बेला भयो, कहाँ हुनुहुन्छ?’ माइजूले तलबाट आवाज दिनुभो। म कुरा टुंग्याएर हतार हतार ओर्लें।

मामा माइजूसँग जतिसक्दो कम कुराकानीले काम चलाएर हतार हतार उहाँहरुबाट उम्किएँ म र आफ्नो कोठाभित्र प्रवेश गरें। बेडमा थचक्क बसेको छु, केही उपाय निकाल्न खोज्छु तर मनको हड्बडी, अत्यास र आतंकले सोचाइको श्रृङ्खला नै चुटिन्छ। त्यसै दिग्दार लागेर आयो, झर्को लाग्यो।

यो सारा तनाव छोडेर लाचार बनिदिऊँ जस्तो, जे होला होला भगवान भरोसे छोडिदिऊँ जस्तो लाग्यो। कता कता रुन मन लागेको हो कि जस्तो पनि भयो। जीन्दगीको सबैभन्दा कठिन मोडमा पुगेको आभाष भयो मलाई यतिखेर।

बेडमा पल्टेर आँखा चिम्म गरेँ। स्मृतीमा मनिषाकी आमाले मेरो बुवासँग कुरा गर्दै गरेको चित्र आयो। मनिषाकी आमाले भन्नु भो ‘दाजु, छोरीको एसएलसीको जाँच आउन लाग्यो, छोराको पनि आठ कक्षामा जिल्लास्तरीय जाँच हुन्छ अरे। उत्तमलाई बेलुका बेलुका हाम्रो घर पठाइदिनु न, यसो पढाइ हेर्दिन्छ। नत्र त फेल ने हुने हुन् कि केटाकेटी भन्ने डर भइसक्यो।’

बुवाले भन्नुभो, ‘भैहाल्छ नि, त्यसको के काम छ र बेलुका। खराब संगतमा लागेर हो कि के हो, बेलुका बेलुका बरालिएर हिड्ने भाको छ हिजोआज त्यो।’

म नजिकै थिएँ, बुवाले बोलाएर भन्नुभो ‘ए उत्तम, सुनिस्, भरे बेलुकादेखि खाना खाएर उहाँहरुको घर जाने, भाइबहिनीहरुलाई पढाउने, ल हेरौं त कत्तिको सक्दो रैछस्, दुइटैलाई पास गराएर देखाइ हेर त ल।’

मन नपरे पनि मैले हुन्छ भने र बेलुकादेखि मनिषाको घर जान थालें। मनिषाको भाइ पढ्नमा अलि ठग खालको रैछ। बाबु-आमा नसुतुञ्जेल यसो पढेको जस्तो गर्ने, अनि उनीहरु सुते भन्ने छनक पाउने बित्तिकै किताब थन्क्याएर आफ्नै कोठामा सुत्न गइहाल्ने। त्यसपछि सुनसान रातमा कोठामा मनिषा र म मात्र। त्यो जवानी, त्यो सामीप्यता, र त्यो अनुकूलता।

हुन त जे भए पनि म नै अघि सरेको त हैन नि! अर्काको घरमा, उसका बुबाआमा त्यहीं पल्लो कोठामा सुतिराखेको अवस्थामा मलाई केही गर्ने आँट पनि कसरी आउँथ्यो र? ‘ट्रिगोनोमेट्री त मलाई एकदम गाह्रो लाग्छ, सिकाइदिनु न’ भन्दै टेबलको अर्को साइडमा बसेर पढिराखेकी ऊ पहिलोपटक मेरै तिर आएर मसँग टाँसिएर बस्ने ऊ नै त हो नि। तैपनि मैले आफुलाई संयमित नै राखेको थिएँ।

आफू पढाइराखेको छु, ऊ भने एउटा हातले मलाई अंगालो हालेर टाँसिएकी छे, कहिले मेरो कपाल चलाउँछे, कहिले मेरो कान सुम्सुम्याउँछे, कहिले बिनापत्तामा त्यसै खित् खित् गरेर हाँस्छे। हुँदा-हुँदा अति नै गर्न थाली, पढ्न छोडेर दुबै हत्केलाले मेरो अनुहार सुम्सुम्याउँदै ‘ओहो, कति ज्ञानी, कति असल मान्छे’ भनेर मलाई जिस्काउन पो थाली।

मैले मात्र कति सम्हालेर सक्नु आफूलाई, उसको घरमा उसलाई डर छैन भने मलाई मात्र के को खाँचो? यसरी आखिरमा सबै नहुनुपर्ने कुराहरु भएरै छोडे। उफ्!

ठूलो श्वास फेर्दै मैले आँखा खोलेँ। यस्तो लाग्यो, मलाई अप्ठ्यारोमा पार्नलाई मनिषाले मात्रै हैन, मनिषाका आमा, बुबा, उसको भाइ, मेरो बुबा लगायत सबै मान्छे, त्यो समय र त्यो परिस्थति मिलेर मरो बिरुद्ध षड्यन्त्र रचेका हुन्।

तर अब गर्नु के? प्रश्न जहाँको त्यहीँ थियो। समस्यालाई त्यत्तिकै छोड्न मिल्दैनथ्यो। केही गरी समस्याको समाधान भएन भने परीणाम यति भयंकर हुन्छ कि कल्पनै गर्दा पनि आङ सिरिङ्ग हुन्छ। नसोचौं भन्दा भन्दै पनि एउटा डरलाग्दो परिदृष्य मेरो मष्तिस्कमा खडा हुन्छ-

गाउँको चोकमा भद्रभलाद्मीहरु सहितको ठूलो कचहरी बसेको छ। मनिषा एक छेउमा घोसेमुन्टो लगाएर भुइँमा बसेकी छ, म अर्को छेउमा अँध्यारो अनुहार लगाएर उभिएको छु। मनिषाकी आमाले सबैका अगाडि आफ्नी छोरीले उत्तमको गर्भ बोकेको र समाजले आफ्नी छोरीलाई न्याय दिनुपर्ने कुरा राख्छिन्।

पञ्चभलादमीले दुवैको बिहे गराइदिने निर्णय सुनाउँछन्। मेरा बुवा-आमा र आफन्तहरुको शिर निहुरिन्छ। मनिषालाई मेरो घरमा जिम्मा लगाएर सबैजना तितरवितर हुन्छन्।

म जबर्जस्ती यो सोचाइँको क्रमलाई भत्काउँछु, मुटु ढुक-ढुक गर्छ। म भर्खर १९ लागेको, मनिषा १६ वर्षकी। हामी दुवैको पढाइ, करियर, सपना र समग्र भविष्य अन्नत अन्धकारमा विलुप्त हुँदै गएको भान भएर मन आतंकित हुन्छ र म जुरुक्क उठ्छु।

यसो सोच्छु, यो बेलामा म उहीं घरमै भैदिएको भए कति सजिलो हुन्थ्यो। अब के गर्नु, यति टाढा बसेर मैले। ठूलाबडाले भनेको, सम्झाएको कुरा मानेन भने जीवनमा दु:ख पाइन्छ भन्थे, हो रैछ। मलाई बुबाआमाले कति सम्झाउनु भएको थियो अहिले नै काठमाण्डौ नजा भनेर।

‘कोरोनाको हल्ला चलिराको छ, भएका स्कुल कलेजहरु समेत बन्द हुन लागेका छन्, तँ किन अहिल्यै जानुपर्यो? पछि सबै ठिक भएपछि जानु’ भनेर आमाले कति सम्झाउनुभो। उहाँ रुन मात्र सक्नुभाको थिएन मैले जान्छु कि जान्छु भनेर जिद्दि गरेकोले।

काठमाडौँबाट मामाले पनि ‘ठिकै छ, पठाइदेऊ न त, भाञ्जाले साह्रै रहर गरेजस्तो छ। यहाँ हाम्रा केटाकेटीका पनि पखेटा लागिहाले, एउटा अमेरिका, अर्को अष्ट्रेलिया। भाञ्जा आए भने हामी बुढाबुढीलाई पनि साथी हुन्छ, घर अलि रमाइलो हुन्छ’ भनेपछि त झन् म एकैछिन नअडिने भएँ गाउँमा।

हेर, त्यतिखेर आमाबुबाले भनेको मानेको भए म यसरी अतालिएर छटपटाउनु पर्थ्यो पानिबाट उफ्रेर अचानक भुंग्रोमा परेको माछा जस्तो? यो सब मलाई पाप लागेको हो। थुइक्क, मैले आफैंलाई धिक्कारें।

अहँ, जसरी भए पनि म जानै पर्छ। अब भने मनले एउटा दृढ निश्चय गर्‍यो। सामाजिक सञ्जाल र समाचारहरुमा मानिसहरु पैदलै काठमाडौँबाट तराईका आफ्ना घरहरु तर्फ गइरहेको मैले हिजो मात्र पढेको थिएँ। मैले अरु कुरा केही सोचिनँ ‘म पनि पैदल जान्छु’ भन्ने एकसुत्रीय निर्णय गरेँ। मनमा अलि राहत भएको अनुभव भयो।

रातैभरि निद्रा लागेन, छटपटीमै बिताएँ। बिहान ४ बजेपछि उठेँ। एउटा पछाडि भिर्ने झोलामा एकदुई वटा लुगा, मोजाहरु र दाँत माझ्ने ब्रस आदि हालेँ। मेरो साथमा सत्ताइस सय रुपैयाँ थियो। त्यती भए मलाई पुग्ने हिसाब गरेँ। लगभग साढे चार बजे तिर म त्यही झोला बोकेर सुटुक्क मामा घरबाट निस्केँ।

६ बज्दा मैले भक्तपुर पार गरिसकेको थिएँ। म अचानक गायव भएको कुराले हाम्रो परिवारिक वृत्तमा सनसनी फैलाउने निश्चित थियो। त्यसलाई केही मत्थर पार्ने मनसायले मैले मामालाई एउटा मेसेज पठाएँ, ‘मामा मेरो चिन्ता लिनुपर्दैन, म ठिक छु, केही दिनमा फिर्ता आउँछु।’

मैले मनिषालाई पनि एउटा मेसेज पठाएँ, ‘म आउँदैछु, नआत्तिकन बस्नु।’ त्यसपछि मैले मोबाइल स्विच अफ गरेँ। मन अलि ढुक्क भयो। सडक खाली थियो, म हिँडिरहेँ।

मान्छेले जे गर्छ, एउटा अदृष्य शक्तिको कारणले गर्छ भन्ने पढेको, सुनेको थिएँ, हो रहेछ जस्तो लायो। एउटा अदृष्य विषाणु मान्छेको फोक्सोमा प्रवेश गरेको कारणले अहिले सम्पूर्ण संसार घरभित्र थुनिएको छ, स्थिर छ, एउटा अदृष्य सुक्राणु मान्छेको डिम्बमा प्रवेश गरेको कारणले म चाहिँ घर निकाला भएको छु, चलायमान छु।

म तेस्रो दिन बेलुकीपख बर्दिबास हुँदै सर्लाही पुगे। बयलबास पुग्दा साँझ पर्नै लागेको थियो। हरिपूर्वा स्थित मेरो घर पुग्न अझै एक डेढ घण्टा लाग्थ्यो। म त्यो रात साथी सिकेन्द्र शाहको बयलबासकै घरमा बसें। धन्न उसलाई म काठमाडौँ गएको कुरा थाहा थिएन र मलाई ढाँट्न सजिलो भयो कि म एउटा कामले हरिवन गएको थिएँ, फर्कंदा ढिलो भयो।

मैले एकछिनको लागि मोबाइल खोलें र मनिषालाई फोन गरेर भनेँ, ‘म सर्लाही आइसकेको छु, तिमी कसैले थाहा नपाउने गरी भोलि बिहान दश बजेतिर बयलबास आउनु।’

यत्तिका दिनपछि मजाले खाएको दालभात नशा र थकानको कारण ओछ्यानमा ढल्कने बित्तिकै म निदाइहालेँ। भोलिपल्ट भनेकै समयमा मनिषा आइपुगी। कहाँ जाने, के गर्ने भन्ने सम्बन्धमा मलाई पनि केही जानकारी थिएन तैपनि मनमा एउटा विश्वास थियो कि लालबन्दीमा अस्पताल, क्लिनिकहरु छन्, त्यहाँ हामीलाई कसैले चिन्दैन पनि र हाम्रो काम पनि हुन्छ।

म मनिषालाई लिएर लालबन्दी तिर लागेँ। हामी लालबन्दी पुग्यौँ। घरैघरहरु बीचको एउटा साँघुरो गल्ली भएर जाँदैथियौं, अलि पर हामी हिंडिरहेको बाटोको केही फराकिलो ठाउँमा पचास साठी जना मानिसहरु भेला जम्मा भएको देखियो। उनीहरुको भावभंगीमा र रवैया हेर्दा लाथ्यो तिनीहरु क्रुद्ध छन् र उग्र रुपमा प्रस्तुत भइरहेका छन्।

छेउमा गएर बुझ्दा थाहा भयो- एक जना मोहम्मद मिकरानी भन्ने व्यक्ति पाँच दिन अगाडि भारतबाट खुल्ला सिमाना हुँदै प्रहरीको आँखा छलेर आफ्नो लालबन्दीको घरमा आएर बसेका रहेछन्। कोरोनाको संक्रमण भएका ब्यक्ति भारतबाट आएर बसेको भन्ने सूचना पाएर उनलाई क्वारेन्टिनमा राख्नलाई लैजाने भनेर प्रहरीहरु आएछन्।

समुदायको सुरक्षाको लागि प्रहरीलाई सहयोग गर्नुको सट्टा स्थानीय समुदाय भने प्रहरीले हाम्रो केही नभएको स्वस्थ मान्छेलाई पूर्वाग्रही भएर थुन्नलाई लिएर जान लाग्यो भनेर उग्र प्रतिक्रिया दर्शाइरहेका रहेका रहेछन्। भीडको पछाडिबाट मनिषा र मैले हेर्‍यौ अलि पर ढाल डण्डा लिएका केही प्रहरीहरु यताबाट मानिसहरुले हानेका इँट्टाढुङ्गाका टुक्राहरुबाट बच्ने कोशिस गर्दै, आफ्नो उपस्थिती दर्शाइरहेका थिए।

यताका मान्छेहरु चैं झन् झन् उदण्ड भएर हल्ला गर्दै, प्रहरीलाई गाली गर्दै, ताकी ताकी ढुंगा हान्दै गरिरहेका थिए। एक घण्टाभन्दा बढी भइसकेको रहेछ यो द्वन्द सुरु भएको।

रमिता हेर्न मजै लागिरहेको थियो तर आफ्नो उदेश्य, पीर, चिन्ता र हुट्हुटी अर्कै थियो। छातीमा थामिनसक्नुको बोझ, मनमा सहीनसक्नुको तनाव थियो। त्यसैले त्यहाँ अल्मलिएर बस्नुको सट्टा जति सक्दो चाँडो आफ्नो गन्तव्य तर्फ लाग्नु नै श्रेयस्कर हुने ठानेर हामी अघि बढ्न खोज्यौँ।

मनिषा भीडको पछाडि उभिराखेकी थिई, म जुत्ताको तुना खुस्केकोले बाध्न भनेर निहुँरिरहेको थिएँ। यही बेला अचानक र अप्रत्याशीत रुपमा भीडमा हलचल आयो। मैले के भएको हो भनेर बुझ्नै पाएको थिइनँ। भीडमा सबैले ‘भाग्, भाग् पुलिस आयो’ भनेर कराउँदै हडबडीमा गडडड भागेको देखेँ।

मैले केही सोच्नै पाइनँ, भीडको लयमा म पनि अत्तालिएर दौडेँ। म हेर्दै छु, मनिषा पनि पछाडि हेर्दै मेरो पछि पछि दौडी। तर दुर्भाग्य, पछाडि हेर्दै दौडेकीले उसले आफ्नो अगाडिको बाटोमा के छ दृष्टि पुर्याउनै सकिन। छिटो दौडिने भएकोले म पर पुगिसकेको थिएँ। तर मैले पछाडि उसलाई हेर्दा हेर्दै ऊ बेगसँग आएर बाटोको छेउमा लडिराखेको एउटा ठूलो ढुंगामा ठोक्किएर डङ्रङ्गै घोप्टो परेर लडी।

म दौडँदा दौडँदै थामिएँ, जहाँको त्यही उभिएँ र उ उठोस् भनेर पर्खि रहेँ। तर ऊ उठिन। भाग्ने मान्छेहरु भागिसकेका थिए, बाटो खाली थियो। प्रहरीहरु लखेट्दै आएकै थिएनन्, भीड त्यसै आत्तिएर भागेको रै छ। मनिषा भने घोप्टो परेर लडेकि लड्यै देखिई।

म झन् आत्तिएँ अब के गर्ने भनेर। डर, हैरानी, निराशा र अन्योलताले एकैपटक छोपिएर मलाई बहुलाउन पाए पनि हुन्थ्यो नि जस्तो लाग्यो। तैपनि जसरी त्यसरी आफूलाई सम्हालेर म विस्तारै मनिषा भए तर्फ गएँ। नजिकैको घरमा भएकी एकजना महिलाले देखिछन्। म सँगसँगै उनीपनि त्यहाँ आइपुगिन। मनिषा वेहोस थिई। मेरो सुझबुझले केही काम गरिरहेको थिएन।

विषम् र कठिन परिस्थितिको भयंकर उचाइमा हिंडिरहेको थिए म। मन त्यसै कहालिई रहेको थियो। म त लाटिएँ, त्यसै हराएँ। एकछिनपछि अरु मानिसहरु पनि जम्मा भए। मनिषालाई पानी छम्किए, ब्युँताउन कोशिस गरे, ऊ ब्युँझिन। मेरो मात्र सुझबुझले हो भने त यहाँ केही हुनेवाला थिएन, म त बाँदरको पुच्छर लौरो न हतियार जस्तो भएर अकमक्क परिरहेको थिएँ।

तर धन्न अरु मानिसहरु नै सक्रिय भए, उनीहरुले नै गर्नु पर्ने सबै प्रयासहरु गरे। अन्तमा उनीहरुले नै मनिषालाई तुरुन्त अस्पताल पुर्‍याउनु पर्ने निर्णय गरे, उनीहरुले नै त्यसको लागि उपाय निकाले। एकजना मानिसले मोटरसाइकल लिएर आयो। अचेत मनिषालाई बीचमा राखेर म पछाडि बसें र यसरी सबैको सहयोगमा उसलाई नजिकैको क्लिनिक पुर्‍याउन सम्भव भयो।

उसलाई उपचार कक्षमा बेडमा सुताइयो, सलाइन दिइयो, डाकटरले अरु परीक्षणहरु गरे। म भने छट्पटिदै उपचार कक्षको बाहिर बसिरहेँ। लभग एक घण्टापछि एउटी महिला मेरो छेउमा आई र सोधी ‘पेसेन्ट तपाईको श्रीमती हो?’ अप्रत्याशित रुपमा आएको यो प्रश्नले म अकमकाएँ र विस्तारै भने ‘हो’।

‘ठिक छ, पेसेन्टको होस आइसक्यो’ उसले भनी।

म भित्र गएँ। कमजोर जस्ती देखिएकी मनिषाले सुती-सुती भावशून्य आँखाले मलाई हेरी। मैले केही बोल्न सकिनँ। त्यहाँ बसिराखेको डाक्टरले मलाई भने, ‘सडेन फिजिकल ट्रमाले गर्दा अन्कन्सस भाको हो। अब ठिक भइसक्यो।’

म केही बोलिनँ।

डाक्टरले फेरि भने, ‘तपाईंको श्रीमती त सानै हुनुहुँदो रैछ, यती सानैमा बच्चा पायो भने आमा र बच्चा दुबैको जीवनमा खतरा हुन्छ भन्ने थाहा थिएन तपाईहरुलाई? यस पटकको प्रेग्नेन्सी यही ट्रमाको कारणले मिस्क्यारिज भयो, इनिसिएल फेजमै भएकोले धेरै कम्प्लिकेसनहरु आएन, तर अब उप्रान्त विचार गर्नुहोला, कम्तिमा बीस वर्ष नपुगी बच्चा पाउन नखोज्नु होला।’

म फेरि पनि केही बोलिनँ।

उपचार पश्चात् हरिपूर्वा हुँदै मोटरसाइकलमा नारायणपुर जान लागेको एउटा अपरिचित मान्छेलाई अनुरोध गरेर मैले मनिषालाई घर पुग्ने व्यवस्था मिलाएँ। म विस्तारै हिंड्दै गएँ। घर पुग्दा झमक्क साँझ परिसकेको थियो।

‘यस्तो कोरोनाको महामारी फैलेको बेला कहाँ गएको, किन गएको, कतिसम्म गैरजिम्मेवार र लापरबाह हुन सकेको’ भनेर घरमा मेरो सातो खाइयो। चार-चार दिनसम्म कसैलाई केही नबताइकन मर्यो कि बाँच्यो केही थाहा नहुने गरी बेपत्ता भएर सम्पूर्ण परिवारमा मैले थोपरेको पीर, चीन्ता, डर, अन्योलता आदिको कारण आमाले मलाई कति हो कति गाली गर्नुभो, रुनुभो।

बुबाले त गाली गर्ने मात्र हैन दुई/तीन झापड पनि हान्नु भो। म मामा माइजूको नजरबाट अलिकति गिरेँ, भेट भएको बेला लाजले भुतुक्क भएँ। तर जे-जे भए पनि यतिखेर म छातीबाट पहाड पन्छाएर हलुका भएको थिएँ, अपूर्व प्रफुल्लताले मन भरिएको थियो।

हैट्, विशाल खुल्ला आकाशमा उन्मुक्त र बेलगाम उडान भरिरहेका मेरा युवा इच्छा, आकांक्षा र सपनाहरु झण्डै पो असमयमै गृहस्थीको लकडाउनमा परेका, गाँठे! अहिले सरकारी उर्दिवाला लकडाउन जारी नै छ, म घरमै थुनिएरै बसेको छु। तर मेरो व्यक्तिगत जीवनको लकडाउन म तोड्न सफल भएको छु। जीवनमा कहिल्यै अनुभव नगरेको सुखले मेरो सम्पूर्ण अन्तर कुन्तर मखलेल छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh