२०७३ सालमा जनकपुरदेखि कमला नगरपालिकाको सघारासम्म ३० दशमलव ७ किलोमिटर निर्माणका लागि टेण्डर आह्वान गरियो । हुलाकी राजमार्ग अन्तर्गत ३१ किलोमिटर सडक बनाउन नेकपाका नेता एवम् प्रदेशसभा सदस्य किशोरी साह निकटको लामा रमण जेभी निर्माण कम्पनीले ठेक्का पायो । कम्पनीले उक्त तीन चरणमा बनाउनेगरी सरकारसँग सम्झौता गरेको थियो । तर सम्झौताको अवधि बितिसक्दा भइसक्दा सडक निर्माण भने पूरा हुन सकेको छैन ।
उक्त कम्पनीसँग पहिलो चरणमा जनकपुरधामको कदम चोकदेखि औरही गाउँपालिकाको कपटौलसम्म १२ किलोमिटर, दोस्रो चरणमा कपटौलदेखि विदेह नगरपालिकाको तिनकौरियासम्म १३ किलोमिटर र तेस्रो चरणमा तिनकौरियादेखि कमला नगरपालिकाको सघारासम्म ५ दशमलव ७ किलोमिटर सडकको निर्माणको सम्झौता गरिएको थियो । नेता साहका निकट बलराम महतो सञ्चालक रहेको लामा रमण जेभी निर्माण कम्पनीले पहिलो र दोस्रो चरण अन्तर्गत सडक निर्माण गरिरहेको छ । कम्पनीले २०७५ फागुन ३ सम्म निर्माण पूरा गर्ने शर्तमा २०७३ असार ३१ मा भ्याटसहित रू. २७ करोड ९५ लाख ४३ हजारमा पहिलो चरणको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता बमोजिम अवधि सकिए पनि काम पूरा भएको छैन ।
समयमा काम सम्पन्न नभएपछि हुलाकी राजमार्ग निर्देशनालयले पहिलो पटकका लागि २०७६ असार २४ गतेसम्मको म्याद थपेको थियो । तर कम्पनीको ढिलासुस्तीका कारण उक्त म्यादभित्र पनि निर्माण पूरा हुन सकेको छैन । उक्त सडकको काम हालसम्म २५ देखि ३० प्रतिशत मात्र सकिएको बताइएको हो ।
दोस्रो चरणको सडक निर्माण २०७५ फागुन ३ गतेसम्ममा सम्पन्न गर्ने शर्तमा २०७३ असार ३१ मा लामा रमण जेभी कम्पनीले भ्याटसहित रू. २२ करोड ९७ लाख ४५ हजारमा ठेक्का सम्झौता गरेको थियो । यो सडक पनि निर्धारित अवधिमा निर्माण नभएपछि २०७६ असार २४ गतेसम्म म्याद थपियो । म्याद थपिए पनि हालसम्म निर्माण पूरा हुन सकेको छैन ।
यस्तै तेस्रो खण्ड सडक निर्माणका लागि ढुकुचु कन्स्ट्रक्शन कम्पनी काठमाडौंले २०७४ असार ३० गते सम्झौता गरेको थियो । यो सडक खण्ड २०७५ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेमा २०७६ असोज २८ गतेसम्मका लागि पहिलो पटक म्याद थपियो । तर हालसम्म करीब २५ प्रतिशत मात्र निर्माण भएको छ ।
हुलाकी राजमार्ग निर्माण समयमा नहुँदा धनुषाका जनताले सास्ती भोगिरहेका छन् । ठाउँ ठाउँमा सडक नै अवरुद्ध बनेको छ । वर्षाको पानी जमेर सडक हिलाम्मे बनेपछि मोटरसाइकल पार गर्न समेत मुश्किल हुने गरेको छ ।
धनुषावासीका लागि मुख्य शहर हो जनकपुरधाम । तर हुलाकी सडक जर्जर बनेकाले कमला नगरपालिका, औरही नगरपालिका र विदेह नगरपालिकाका नागरिक सहजै जनकपुरधाम आउन सकिरहेका छैन । ‘पानी जमेको कतिपय ठाउँमा मोटरसाइकल पार गर्न पनि ठूलै जोखिम लिनुपर्छ,’ औरहीका प्रमोद अधिकारीले भने, ‘ठेकेदारको लापरबाहीले हुलाकी सडक समयमा बन्न सकेन ।’
सांसद नै ठेकेदार भएकाले कारबाही हुन नसकेको बुझाइ स्थानीय छ । एम्बुलेन्स समेत आवतजावत गर्न नसक्ने गरी हुलाकी सडक हिलाम्मे बनेको गुनासो स्थानीयवासीले गरेका छन् ।
कतिपय ठाउँमा हुलाकी सडकमा २ फिटसम्म पानी जमेको छ । पानीभित्र हिलो जमेको र इँटा तथा पत्थर रहेकाले आवतजावतमा समस्या हुने गरेको छ । तिनकौरिया चोक नजिकै सडकमा जमेको पानीमा हरेक दिन २–४ जना मोटरसाइकल चालक लड्ने गरेको स्थानीय बताउँछन् । प्रदेश सांसद नै ठेकेदार भए पनि सडक निर्माण कछुवाको गतिमा भइरहेको भन्दै प्रदेश २ को सदनमै पटक पटक आलोचना भइसकेको छ ।
जनताले समेत उनको व्यापक आलोचना गरेका छन् । उनले ठेक्काको प्रतिनिधिमा आफ्नो नामको सट्टा महेश्वर साहलाई राखेको स्रोतले बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !