धनुषा ,भदौ ९ गते मंगलवार ।।
आलोक यादव
नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न र कार्यालय प्रमुखहरुलाई अझ जिम्मेवार र उत्तरदायित्व बनाउन आज २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआइजी ) धिरज प्रताप सिंहले आफ्नो मातहत प्रहरी कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसंग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभए पश्चात २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सिंहले आज यस प्रदेश मातहतका २ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय राजविराज) का समादेशक, २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण प्रमुख, २ नं. प्रदेश सशस्त्र प्रहरी गण प्रमुख, २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा ८ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरु संग २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केवर धनुषामा २ नं. प्रदेशका कार्यालय प्रमुखहरू बीच २०७७ साउन १ गते देखि २०७८ साल असाढ मसान्तसम्म सम्बन्धित कार्यालयहरूबाट सम्पादन हुने कार्यक्रम र गतिविधीहरूलाई समेटी कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक सिंहले नेपाल प्रहरी कार्ययोजना २०७७ को उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै यसले आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्नुका साथै नेपाल प्रहरीलाई पद्धतिगत रुपमा अघि लैजान यो कार्ययोजना सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा योजनाबद्ध, र र परिणाममुखी हुनुपर्ने अवधारणा अनुरुप कार्ययोजना तय गरिएको उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक सिंहले “विनम्रतालाई कमजोरी नठान्नु” भन्ने प्रहरी महानिरीक्षकज्यूको भनाईलाई दोहोर्याउदै नागरिक केन्द्रित भएर परिणाममुखी कार्य सम्पादनमा सबै दृढ संकल्प भई लाग्ने विश्वास व्यक्त गर्नु भयो ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीहरुको व्यवस्थापन गर्न र आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभयो ।
नेपाल प्रहरीको कार्ययोजना २०७७ अनुरुप जिम्मेवारीप्रति प्रतिबद्ध, कानुन कार्यान्वयनमा दृढ, प्रकृयामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई समग्रतामा आम नागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !