काठमाडौं ,भदौ ८ गते सोमबार ।।
जनप्रभाब – सम्बादाता
नेपालमा थप ७ सय ४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेको गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ ।
यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी ८ जनाको मृत्यु भएको गौतमको भनाइ छ । योसँगै मृतकको कुल संख्या १५७ पुगेको छ ।

















