काठमाडौं ,भदौ ८ गते सोमबार ।।
जनप्रभाब – सम्बादाता
इलाका प्रहरी कार्यालय, मेलम्ची सिन्धुपाल्चोकले लामो समयदेखि फरार रहेका २ अभियुक्तलाई पक्राउ गरेको छ । चोरी मुद्दाका फरार अभियुक्त ३३ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला अदालत सिन्धुपाल्चोकको २०४४ असोज २९ गतेको फैसलाअनुसार चोरी मुद्दामा दोषी ठहर भएका मेलम्ची नगरपालिका–८ का ७८ वर्षीय ग्याम्जो तामाङलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
मेलम्ची प्रहरीका इन्सपेक्टर फलबहादुर तामाङका अनुसार चोरी मुद्दामा दोषी ठहर भएका आरोपी ग्याल्मो तामाङलाई अदालतले १ महिना १५ दिन दिन कैद र ५६ हजार ३८७ रुपैयाँ जरिवाना सुनाएको थियो ।
अदालतको आदेशलगत्तै तामाङ फरार थिए । मेलम्ची नगरपालिका–८ लाभगाउँ जंगलस्थितमा लुकेर बसेको अवस्थामा आरोपी ग्याल्मो तामाङलाई पक्राउ गरिएको इन्सपेक्टर तामाङले बताए ।
यस्तै जबरजस्तीकरणी मुद्दाका फरार आरोपीलाई समेत १८ वर्षपछि पक्राउ गरिएको इन्सपेक्टर तामाङले बताए । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१९ का ३६ वर्षीय उत्तम भन्ने भोला बहादुर खड्का रहेका छन् ।
२०५९ जेठ २२ गते जिल्ला अदालतले जबरजस्तीकरणी मुद्दामा खड्कालाई १ वर्ष ५ महिना २३ दिन कैद सजाय तोकेको थियो । अदालतको आदेशलगत्तै खड्का फरार थिए ।
खड्कालाई मेलम्ची नगरपालिका–११ जरायोटारस्थित आफ्नै घरबाट पक्राउ गरिएको इन्सपेक्टर तामाङले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !