- काठमाडौं ,भदौ ५ गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
कोरोना संक्रमितको उपचारका लागि उपयोगी मानिएको एण्टी भाइरल रेमदिसिभिर औषधि नेपाल भित्रिएको छ। फार्मास्युटिकल कम्पनी सिनर्जी डिष्ट्रिब्युटरले भारतबाट हवाई र स्थलमार्ग हुँदै रेमदिसिभिर औषधि नेपाल भित्र्याएको हो।
यसअघि औषधि व्यवस्था विभागले सिनर्जी लगायतका तीन कम्पनीलाई भारतबाट रेमदिसिभिर औषधि आयात गर्ने अनुमति दिएको थियो।
कम्पनीले पहिलो चरणमा ५ सय २८ भायल औषधि नेपाल भित्र्याएको सिनर्जीका डिष्ट्रिब्युटरले जनाएको छ । भारतबाट ल्याइएको सो औषधि ह्याम्स अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक अस्पताल, बि एण्ड बी लगायत अस्पतालमा वितरण भैसकेको छ।
अस्पतालहरुको माग अनुसार कम्पनीले औषधि सप्लाई गरेको उनले बताए। सिनर्जीले एक डोज औषधिको ७ हजार ६ सय नेपाली रुपैँया पर्ने जनाएको छ।
भारतको सिप्ला कम्पनीबाट यति केएम डिस्ट्रीब्युटर र हेटेरो कम्पनीबाट नेपालको भेभिओस्का कम्पनीले पनि थप रेमदिसिभिर औषधि आयात गर्ने तयारीमा छ।
पहिले कालोबजारी, अहिले वैध
कोरोना संक्रमितको उपचारमा प्रयोग भैरहेको रेमदिसिभर औषधि नेपालमा वैध रुपमा पहिलोपटक भित्रिएको हो। खोपको रुपमा प्रयोग गरिने यो औषधिले कोरोना संक्रमितको रोग प्रतिरोधी क्षमता बढ्ने बताइएको छ ।
यो औषधिको पूर्ण परीक्षण नभएपनि पछिल्लो समय भारत तथा बंगलादेश लगायतका देशले संक्रमितलाई यो औषधि प्रयोग गरिरहेको छ । पछिल्लो समय विराट मेडिकलका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीमा कोरोना संक्रमण हुँदा पनि यो औषधि प्रयोग गरिएको थियो । उनले हवाईजहाज चार्टर गरेर रेमदिसिभर मगाएका थिए । रेमदिसिभरसँगै उनलाई प्लाज्मा थेरापी पनि दिएपछि उनको स्वास्थ्य अवस्था सामान्य भएको थियो ।
उनीबाहेक अन्य संक्रमितमा पनि यो औषधि प्रयोग भैरहेको छ । विशेषगरी वीरगञ्जलगायत सीमा नजिकका जिल्लाहरुमा यो औषधि प्रयोग भैरहेको छ । वैधरुपमा आयात नहुँदा यो औषधिको कालोबजारी भैरहेको हो । सोहीकारणले रेमदिसिभिर भित्र्याउनको लागि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई स्वीकृति दिएको छ ।
यो औषधि अहिले क्लिनिकल परीक्षका लागि ल्याउने निर्णय भएको औषधि व्यवस्था महानिर्देशक विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिएका छन्।
के हो रेमदिसिभिर ?
अमेरिकी कम्पनी गिलियड साइन्सेजले उत्पादन गरेको रेमदिसिभर कोरोना संक्रमितका लागि उपयुक्त रहेको जनाएको छ । गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि यो औषधि उपयुक्त हुने कम्पनिको दावी छ ।
तर यो औषधि कोरोना संक्रमितको लागि नै पत्ता लगाइएको भने हैन । यो औषधि हेपाटाइटिस ‘सी’ संक्रमणको उपचारका लागि विकास गरिएको थियो । सो रोगको उपचारमा यो औषधिले सफलता पाउन सकेन ।
पछि यो औषधि सार्स र मर्सको संक्रमण विरुद्ध पनि प्रयोग गरियो । ती संक्रमणमा यो औषधि केही हदसम्म सफल पनि भयो । तर, इबोला र मारबर्ग भाइरसको संक्रमणमा यो औषधि भने प्रभावहीन भएको थियो । यही औषधि अहिले कोरोना संक्रमितमा पनि परीक्षण गरिँदा केही फाइदा भएको पाइएको थियो ।
अन्य रोगको तुलनामा कोरोना संक्रमितका उपचारमा यो प्रभावकारी समेत देखिएको छ । यो औषधिले संक्रमितको रोग प्रतिरोधी क्षमता उल्लेख्य रुपमा बढाउने बताइएको छ ।
यसअघि बेलायतले यो औषधि प्रयोगमा ल्याएको थियो । यसको प्रयोग बेलायतको नेसनल हेल्थ सर्भिसका बिरामीमा गरिएको थियो । बेलायती स्वास्थ्य अधिकारी म्याट हेनककका अनुसार रेमदेसिभिर औषधिको प्रयोगपछि बिरामीहरु तुलनात्मक रुपमा छिटो नै संक्रमणबाट ठीक भएका छन् ।
सामान्यतया कोरोना संक्रमितलाई संक्रमण मुक्त हुन १५ दिन लाग्ने गरेकोमा यो औषधिको प्रयोगले ती बिरामी ११ दिनमै ठिक भएका छन् । यो औषधिले रोग पार्ने नभइ संक्रमण विरुद्धको क्षमता बढाइ निको हुने दिन केही कम गरेको हो ।
अमेरिका, जापान, बेलायतसँगै अहिले यो औषधि विश्वका अन्य देशमा समेत परीक्षण भइरहेको छ । तर, यसअघि चीनमा गरिएको परीक्षण भने सफल हुन सकेन । चीनमा यो औषधिको प्रयोग गरिँदा बिरामीमा उल्लेख्य सुधार नदेखिएको भन्दै यसको प्रयोग बन्द गरिएको थियो । तर, विज्ञहरु भने चीनमा यसको पर्याप्त परीक्षण नभएकाले यो सफल नदेखिएको बताइरहेका छन् ।
बेलायतले यो औषधिबारे थप अध्ययन गर्ने जनाएको छ । यो औषधि कोभिड–१९ को संक्रमण पुष्टि भएका वयस्क र गम्भीर लक्षण भएकालाई मात्र प्रयोग गरिने बताइएको छ ।
औषधिबारे यसअघि भएको अध्ययन अनुसार अक्सिजन लगाउन् पर्ने अवस्थाका बिरामीको उपचारमा रेमदेसिभिर बढी प्रभावकारी देखिएको छ । तर, संक्रमण भए पनि सिकिस्त नभएकामा भने यो औषधिको कुनै प्रभाव देखिएको छैन ।
सोहीकारण संक्रमणका कारण जीवन संकट परेकामा मात्र यो औषधि प्रयोग गरिएको छ । यो औषधिको प्रयोगले कोभिड–१९ को संक्रमणबाट हुने मृत्युदर भने कम गर्न सकिने बताइन्छ ।
निर्धक्कसँग यो औषधिको प्रयोग नगरिनुको कारण भने यसको सम्भावित साइड इफेक्ट रहेको बताइएको छ । यो औषधिको प्रयोगले कलेजो सुन्निने, रक्तचापको कमी र चिट्चिट् पसिना आउने लगाएतका साइड इफेक्ट देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !