- कृष्ण अग्रहरी
- कपिलवस्तु,भदौ ३ गते बुधबार ।।
हरितालिका तीजको सबैलाई
लाखौ लाख शुभकामना व्यक्त गर्दछु।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकोसंक्रमण समुदाय स्तरमा देखिएकोले हामीहरु
” घरमा बसेर मजाले नाचौँ, दिलखोलेर हासौँ र कोरोनाबाट बचौँ । “
तीजको महत्व,
तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो ।
तीज पर्व भन्नासाथ हामी भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बेदना पोख्छन् ।
तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो ।
धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास छ ।
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।
पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी हिन्दू नारीहरूले तीजको व्रत बस्ने चलन छ ।
तीजको धार्मिक र ऐतिहासिक पक्षमा विचार गर्दा शिवगौरी संवादसम्म पुग्नुपर्ने हुन्छ । थोरै परिश्रमले ज्यादा फल मिल्ने व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताएका थिए । जसमा माथि भनिए अनुसारका तीनै चीजको संयोग भएको समयमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापराशिहरुबाट मुक्ति पाउने कुराको उल्लेख पाइन्छ । त्यस्तो समयको व्रतलाई उत्तम कोटिको व्रत मानिन्छ ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ ।
विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !