- सुनसरी ,भदौ २ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहेका २ थुनुवा र औराबनीमा सञ्चालनमा रहेको सीजी फुड्स प्रा.लि.मा कार्यरत ४ जना कामदारसहित सुनसरीमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ सय ३२ पुगेका छन भने इनरुवामा सोमबार थपिएका सात जनासहित २० जना पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा रहेका १२ जनाको पीसीआर परिक्षण गरिएकोमा २ थुनुवामा कोरोनाको संक्रमण पुष्टि भएको हो । बाँकी दश जनाको भने नेगेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएपनि उनीहरु संक्रमितसँगै बसिरहेको र थुनुवासँग प्रहरीका अधिकृतहरुले समेत केरकारको क्रममा संबाद गरेकोले जोखिम अझै बढेको छ । पोजेटिभ रिपोर्ट आएका दुई जनालाई छुट्टै राखेको र उनीहरूलाई अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
रामधुनी ६ बकलौरी घर भएका थुनुवाहरु सुनसरी जिल्ला अदालतबाट इनरुवा ७ चाँदवेलाका एक ब्यक्तिको हत्या प्रकरणमा जेल सजाय पाएका अभियूक्तहरु हुन । उनीहरुलाई सादा पोशाकका प्रहरीले सुराकीको आधारमा नियन्त्रणमा लिएर छ दिन अगाडि अदालत पेश गरेको थियो । अदालतको फैसलाअनुसार झुम्का कारागार लगिएका उनीहरुको पीसीआर रिपोर्ट नभएका कारणले कारागारले राख्न नसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय फिर्ता पठाई दिएको थियो ।
त्यसैगरी इनरुवा ४ हनुमान चौकका एक जनामा समेत कोरोना पुष्टि भएको छ । उनी विराटनगरमा रंगरोगनको काम गर्दै आएकोमा केही दिनदेखि घरमै रहँदै आएका थिए ।
त्यस्तै दुई सशस्त्र प्रहरीमा समेत कोरोना पोजेटिभ पाइएको छ । इनरुवाबाट स्वाब संकलन गरिएका ४ जना संक्रमित पाइएका छन् । दुई सशस्त्र प्रहरी मध्ये एक जना इनरुवा ३ घर भएका ब्यक्ति हुन भने अर्का कप्तानगञ्जका हुन ।
त्यसैगरी गढी गाउँपालिकाको औरावनीमा सञ्चालित सीजी फुड्समा ३३ जनाको स्वाव संकलन गरी परिक्षण गरेकोमा चार जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । ति मध्ये एक उद्योगका चमेनागृह सञ्चालक हुन भने दुई इनरुवा ५ बलाहा डेरा गरी बस्ने कर्मचारीहरु हुन । उनीहरु शारदा माध्यमिक विद्यालय छेउ दक्षिणको बस्तीमा रहेको एक घरमा डेरा लिएर बस्दै आएका थिए । उनीहरु त्यहीबाट कार्यालय आउजाउ गर्ने गर्दथे । वडाध्यक्ष अन्जनीकुमार पोखरेलका अनुसार उक्त घरमा सो फ्याक्ट्रीमा काम गर्ने अन्य कर्मचारीहरुसमेत बस्दै आएका छन ।
त्यस्तै सोही उद्योगमा काम गर्ने अर्का एक जना भने इनरुवा १ आर्दश टोलमा डेर गरी बस्ने ब्यक्ती हुन । उनी एक दुई र एक चार वर्षको बच्चा र श्रीमतिसँगै बस्दै आएका छन ।
उता औराबनीमा संचालनमा रहेको चाउचाउ उद्योगका कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उक्त उद्योग बन्द गराउने तर्फपहल थालेको छ ।
३ सय बढी कामदार कार्यरत सीजी उद्योगका कामदारमा संक्रमण देखिए पछि समुदायमा जोखिम बढेको ठहरसहित उद्योग बन्द गर्नेतर्फ प्रकृया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिए ।
कामदारहरुलाई कार्यालय भित्रै राखेर उद्योग संचालन गर्नु पर्ने भए पनि सीजीमा कार्यरत कामदार भने घरबाटै आउजाउ गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !