- सुनसरी,भादौ १ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी गरेको निषेधित क्षेत्रको समय बढाएको छ । आइतवार मध्यरातीसम्म रहेको निषेधित क्षेत्रको आदेशलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले थप एक सातालाई बढाएको हो ।
जिल्लामा कोरोना संक्रमितहरू दिनानुदिन बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतवार बसेको सुरक्षा समितिको बैठकले आइतवार मध्यरातीदेखि भदौ ७ गते राति १२ बजेसम्म निषेधित क्षेत्र घोषणा थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सूचना जारी गरी अत्यावश्यक बाहेक मानिसहरू हिँड्डुल गर्न नपाइने, बजार तथा हाटबजार बन्द रहने, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने र स्वास्थ्य र अत्यावश्यक सवारी साधनहरू भने स्वास्थ्य प्रोटोकल अपनाएर सञ्चालन हुन पाउने, बैक तथा, वित्तीय संस्थाहरू विद्युतिय सेवा बाहेक सबै बन्द हुने र सरकारी कार्यालय, सार्वजनिक संस्थाहरूले सकभर विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्ने, कर्मचारी नै उपस्थित भएर सेवा प्रवाह गर्नुपर्ने भए आवश्यकता हेरी कार्यालय प्रमुखले कार्यालयमा कर्मचारीको भिडभाड नगराई कार्य सञ्चालन गर्न व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।
यदि यसको कार्यान्वयन भएन भने संक्रमक रोग २०२० र प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुनसरी जिल्लामा पछिल्लो रेकर्ड अनुसार जिल्ला भरी कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ । जस मध्ये १ सय ४० जना निको भएर घर फर्किएका छन् भने अझै १ सय ६० जना विभिन्न अस्पताल र होम आइसोलेसनमा संक्रमितहरू रहेका छन् ।
यी मध्ये ४३ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

