- सिरहा,साउन ३२ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सिरहाको बरियापटि गाउँपालिका ५ जिझौलमा रहेको चौरिदाश बाबा पोखरी सौन्दर्यकरण स्तरहीन भएको भन्दै स्थानियले विरोध जनाएका छन् । ऐतिहासिक पोखरी भएकाले मापदण्ड अनुसार पोखरीको सौन्दर्यकरण हुनु पर्ने भन्दै स्थानियले केहीदिन अघि अवधरोध गर्न खोजेका थिए । प्रदेश २ सरकारको झण्डै ८ करोड रुपैयाँ लगानीमा ६ महिना अघिबाट उक्त पोखरीको सौन्दर्यकरण थालिएको हो ।

पोखरी निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनी प्रेरा आइएसएनबी जेबि जनकपुर र ईञ्जिनियर भगवान झाको मिलोमतोमा मापदण्ड बिपरित स्तरहीन काम भएको स्थानियको भनाई छ । झा प्रदेश नम्बर दुई मुख्यमन्त्री कार्यालयका सिनियर इञ्जिनियर हुन् । पूर्व शिक्षक समेत रहेका स्थानिय उपेन्द्र यादवले राजधानीसँग भने ‘पोखरीको पर्खालको जगमा सिमेण्ट प्रयोग नगरी ग्रावेल र माटो प्रयोग गरिएको छ’
पोखरीको पर्खाल बनाउँदा नै स्तरहिन सामाग्रि प्रयोग गरिएको पाएपछि स्थानियले ईञ्जिनियर झा सँग पोखरी निर्माणको स्टमेट मागेका थिए तर, झाले देखाउन नमिल्ने बताएको उपेन्द्रको भनाई छ । काम बन्दै गर्दा लगानी र मापदण्डबारे सार्वजानिक रुपमा सबैले देख्ने गरी राख्नु पर्ने होर्डिंङबोर्ड पनि सर्भे टोली आउँदा मात्रै टाँगिने गरिएको छ ।
छ महिना अघि समाजवादी पार्टी नेपालका कोषाध्यक्ष समेत रहेका प्रदेश दुईका योजना तथा अर्थमन्त्री विजय यादवले तामझामका साथ पोखरी सौन्दर्यकरणको उद्घाटन गरेका थिए ।
उद्घाटनका बेला मन्त्री यादवले पोखरीको सौन्दर्यकरणले आन्तरिक पर्यटन बढ्ने बिश्वास ब्यक्त गरेका थिए । मन्त्री यादवले यही क्षेत्रबाट प्रदेश सांसद जितेका थिए । यादवकै पहलमा यो पोखरीको सौन्दर्यकरणको बजेट विनियोजन गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !