- धरान ,साउन २८ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मोरङको बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो । रुघाखोकीको समस्यासहित सोमबार कोसी अस्पताल पुगेका उनलाई कोरोनाको लक्षण देखिएको भन्दै धरान रिफर गरिएको थियो ।
चिकित्सकहरुले कोरोना संक्रमणको आशंकामा आइसोलसनको आईसीयूमा राखेर उपचार गरेका थिए । ती बिरामीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि विराटनगरस्थित प्रदेश १ को प्रयोगशालामा पठाइएको थियो ।
उनको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो । डाक्टर सापकोटाका अनुसार ती पुरुषमा मधुमेह, मुटुसम्बन्धी, उच्च रक्तचाप जस्ता कुनै पनि जटिल र दीर्घ रोग थिएन ।
उनको शव व्यवस्थापनका लागि आवश्यक समन्वय भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।
योसँगै मोरङका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !