- सुनसरी,साउन २७ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
सुनसरीमा निषेधित क्षेत्रको समयावधि थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको छ ।
भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।
साउन २० गते ढुवानी बाहेकका सवारी रोक्दै अत्यावश्यक बजार पसल सीमित समय खोल्ने निर्णय गरेको प्रशासनले भोलिपल्ट २१ गते रातीबाट लागु हुने गरी जिल्लालाई निषेधित क्षेत्र तोकेको थियो ।
प्रजिअ पोखरेलले स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले सुरक्षात्मक उपाय अपनाउन निषेधित क्षेत्र घोषणा गरिएको बताए
सो अवधिमा अत्यावश्यक, ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य चलाउन पाइने छैन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार निषेधित क्षेत्रको अवधिमा सर्वसाधारणको आवतजावत पूर्ण बन्देज रहने छ ।
प्रशासनले सवारी सञ्चालनका लागि कुनै पनि पास जारी नहुने समेत स्पष्ट पारेको छ ।
सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीले भने आफुले प्रयोग गर्ने सवारी साधन सहित कार्यालय समय अघि र पछी आउजाउ गर्न पाउने छन् । औद्योगिक क्षेत्रले भने स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताइएको छ ।
निर्णय उल्लंघन गर्ने र अटेर गरी सवारी चलाउने तथा हिंड्डुल गर्नेलाई पक्राउ गरी कार्वाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ ।
प्रशासनले यसअघि जारी गरेको निषेधित क्षेत्रको आदेश आज राती १२ बजेबाट सकिन लाग्दा पुनः सो समयदेखि साउन ३२ गते रातीसम्मको लागि थप गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !