- काठमाडौं,साउन २७ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
आइतबार निर्मम हत्यापछि सुटकेश र झोलामा पोको पारेर शव फालेको घटनामा नयाँ तथ्य बाहिरिएको छ । हत्याको आरोप स्वीकारेकी महिलाले यौन हिंसा र आर्थिक लेनदेनको कारण हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छिन् ।
कृष्णबहादुर बोहोराको हत्या आरोप लागेकी कल्पना मुडवरीलाई प्रहरीले सोमबार चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ ।
गत शनिबार कृष्णबहादुर अभियुक्त कल्पनाको डेरामा गएको र विवाद बढेपछि हत्यासम्मको अवस्था आएको देखिएको छ ।
कृष्णबहादुरसँग पुरानै चिनजान रहेको र शनिबार डेरामा आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सँगै बसेर बियर खाएपछि विवाद बढ्दै गएको र कल्पनाले दहीमा स्लिपिङ ट्याब्लेट मिसाएर बोहोरालाई खुवाएको प्रहरीलाई बयान दिएकी छिन् ।
लठ्ठिएका बोहोरालाई सुरुमा ह्यमरले अण्डकोषमा हानेको र पछि बाथरुममा लगेर टुक्राटुक्रा पारेको प्रहरीलाई बताएकी छिन् ।आरोपी कल्पनाले आर्थिक लेनदेनमा पनि विवाद रहेको र आफू सहित छोरीलाई पनि यौन हिंसा गर्न खोजेकोले हत्या गरेको बयान दिएकी छिन् ।
आइतबार काठमाडौंको गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा कालो रङको सुटकेसभित्र टाउको र खुट्टा काटिएको शव फेला परेको थियो।
त्यसको करिब ३ सय मिटरमा झोलाभित्र खुट्टा र टाउको फेला परेको थियो। एक दिनसम्म शवको पहिचान हुन सकेन। अन्तत: शव दाङका कृष्णबहादुर बोहोराको भएको खुलेपछि घटनाको विषयमा नयाँ तथ्यहरु पत्ता लाग्दै गएको थियो ।
सोमबार प्रहरीले शव भेटिएको स्थानबाट करिव सय मिटरको दुरीमा रहेको घरमा खानतलासी गरेको थियो। जुन घरमा महिला डेरा गरि बस्थिन्। हत्या त्यही घरभित्र भएको प्रहरी निष्कर्षमा पुगेको छ।
पक्राउ परेकी महिलासँग म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । हत्या गरेपछि आइतबार छोराछोरीसहित एम्बुलेन्सबाट चितवन पुगेकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !