- काठमाडौं,साउन २६ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
हुण्डी कारोबारको सूचना दिने दुई निरीह किशोर किशोरीलाई काठमाडौं प्रहरी परिसरले लुटपाटमा मुद्दा दायर गरेको छ । तर हुण्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति दिएको छ । २०७७ असार ७ गते न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटपाट गरे । लुटपाट आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउनु स्वभाविक हो । तर सूचना दिने लमजुङका २२ वर्षीय सौरभ अधिकारी र सहकारीमा कार्यरत २१ बर्षीया रेणु श्रेष्ठलाई समेत लुटपाट अभियोगमा कडा सजायको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । तर, हुण्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति दिइएको छ ।
हुण्डी कारोबारको आरोप लागेका अग्रवालले ४० लाख समृद्ध सहकारी संस्थाबाट निकालेको पुष्टि भइसकेको र उक्त रकमको स्रोतसमेत खोल्न नसकेको अवस्थामा उनलाई उन्मुक्ति दिएर प्रहरीलाई सूचना दिने अधिकारी र श्रेष्ठलाई लुटपाट गर्ने हवल्दार विष्ट र चन्द जत्तिकै अपराध गरेको आरोपमा अदालतमा मुद्दा दायर गरिएको छ ।
विकास अग्रवालको ४० लाख रकमको बारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागमा पठाउनुपर्नेमा नपठाई काठमाडौं प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले उनलाई उन्मुक्ति दिएका छन् । शुभलाभ लिएर सूचना दिने अधिकारी र श्रेष्ठलाई फसाउने काम गरेको आरोप छ । अवैध हुण्डीको कारोबार गरेको सूचना दिएबापत उनीहरुलाई प्रहरीले डकैती लुटपाटको अभियोगमा मुद्दा दायर गरेको छ । तर हुण्डी कारोबारीलाई भने केही पनि कारवाही नगरिकन छाडेको छ ।
अग्रवाललाई राजश्व र सम्पत्तिमा समेत नपठाएर प्रहरीले जोगाएको आरोप प्रहरीमाथि लागेको छ । बिबिएस अध्ययनरत शौरभ अधिकारीसँग हवल्दार विष्टको केही महिना अगाडि चिनजान भएको र उनले सहकारीमा हुण्डी कारोबारको रकम जम्मा गर्नेहरुको बारेमा सूचना दिए कमिसन आउँछ भन्ने प्रलोभन देखाएपछि आफूले रेणु श्रेष्ठबाट विकास अग्रवालले सहकारीबाट ४० लाख रकम झिकेको जानकारी पाएको बयान दिएका छन् । उक्त जानकारी पाएपछि आफूले हवल्दार विष्टलाई सूचना दिएको उनले बयानमा खुलाएका छन् ।
‘आफू लमजुङमा भएको बेलामा कमिसनको लोभले रेणु श्रेष्ठबाट जानकारी लिएर प्रहरीलाई सूचना दिएको थिएँ । तीन दिनपछि काठमाडौंमा आउँदा हुण्डीको सूचना दिएवापत राज्यले कमिसन दिने त कता हो कता उल्टै पक्राउ गरी लुटपाट र डकैतीको मुद्दा झेल्नुपरेको छ’ भन्दै निराश भएका छन् । प्रहरीले नागरिकबाट सूचना लिने गर्दछ । तर सूचना लिएर प्रहरीले बद्मासी गरेपछि नागरिकलाई त्यो बद्मासीको भागिदार बनाएर प्रहरीले सूचना दिनेहरुलाई अब थप भयभित बनाएको छ । शौरभ अधिकारी र रेणु श्रेष्ठ पहुँचविहीन गरिबका छोराछोरी हुन् । उनीहरुले थोरै कमिसनको लोभमा प्रहरीलाई हुण्डी कारोबारी अग्रवालले रकम निकालेको जानकारी दिएका थिए । तर उक्त रकम हवल्दार विष्ट र जवान चन्दले लुटपाट गरे । अधिकारी र श्रेष्ठले प्रहरीलाई सूचना दिएको तर लुटपाटको बारेमा आफूहरुलाई थाहा नभएको प्रष्ट बयान दिँदादिँदै पनि प्रहरीले उनीहरुलाई मुद्दा चलाएको छ ।
अदालतले पनि उनीहरुको संलग्नता लुटपाटमा नभएपनि पुर्पक्षमा पठाएको छ । जसका कारण उनीहरुको भविष्य अन्धकार बनेको छ । विकास अग्रवाल हुण्डी कारोबारी थिए । प्रहरीलाई मिलाए । राजश्व र सम्पत्तिमा फाइल पठाउनबाट रोके । तर पहुँचविहीन अधिकारी र श्रेष्ठ अपराधमा संलग्न नभएपनि प्रहरीको कोपभाजनमा परेका छन् ।
काठमाडौं प्रहरी परिसरले सहकारीलाई अनुसन्धानको दायरामा ल्याएको छैन । अग्रवालको पैसाको स्रोत खोजिएको छैन । हुण्डी कारोबारको आरोप लागेका अग्रवालालाई छानबिन नगरी उन्मुक्ति दिइएको छ । अग्रवालले ४० लाख लगेको रेणु श्रेष्ठको फेसबुक म्यासेन्जरबाट सूचना लिई अधिकारीले प्रहरीलाई दिएको बयानमा भनेका छन् । तर अग्रवालले भने १७ लाख मात्रै सहकारीबाट निकालेको बयान दिएका छन् ।
एउटा झोलामा १२ लाख र एउटा झोलामा ५ लाख भएको बयान उनले दिएका छन् । तर १० लाख लुटपाट भएको छ । यसले पनि अग्रवालको बयानमा खोट देखिन्छ । सूचना दिनेलाई फसाइएको बारेमा काठमाडौं प्रहरी परिसरका मुद्दाका डीएसपी देवी पौडेलसँग साउन २५ गते आइतबार पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । । साँघु साप्ताहिकबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया !