- राजविराज,साउन २२ गते बिहीबार ।।।
- जनप्रभाब-सम्बादाता
खानामा किरा भेटिएको विषयमा विवाद सुरु भएपछि सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्रनारायण सिंह आईसोलेसनमा आज बिहीबार तनाव उत्पन्न भएको छ ।
संक्रमितहरुले आईसोलेसनमा भएका टेवुल तथा टेन्ट तोडफोड गरेका छन् । किरा भएको खाना नखाने भन्दै आफुहरु भोक हड्तालमा वसेको मुस्तकीम आलमले वताए । पटक–पटक गुनासो गर्दा पनि ब्यवस्थापनले वेवास्ता गरेपछि आक्रोसित युवाहरुले १/२ वटा टेवुल तोडफोन गरेको पनि उनको भनाई छ । ‘हामीले खानाको विरोध गरेपछि झन समस्या थपियो’ उनले भने–‘हामीसँग १० वर्ष मुनिका वालवालिका पनि छन्, पानी समेतको ब्यवस्था गरिएको छैन ।’
यता, तनाव उत्पन्न भएपछि आईसोलेसनमा रहेका स्वास्थ्यकर्मीलगायत सम्पुर्ण ब्यवस्थापकिय टोलीले आईसोलेसन स्थल छोडेको छ । उनीहरु अस्पताल पुगेका छन् । भएका सामग्री तोडफोड गर्ने तथा उपस्थित स्वास्थ्यकर्मीहरुलाई दुब्यवहार गर्न थालेपछि उनीहरु भागेर अस्पताल आएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झाले वताए । ‘स्वास्थ्यकर्मीलाई दुब्यवहार गरेको यो पहिलो पटक होईन। पटक–पटक यस्तो ब्यवहार भएको छ’ उनले भने–‘अव स्वास्थ्यकर्मीहरु त्यहा गएर काम गर्ने अवस्था छैन। सोहि विषयमा हामीले प्रमुख जिल्ला अधिकारी र नगरपालिका कार्यालयलाई पत्राचार गर्दैछौं ।’
स्वास्थ्यकर्मीहरुले आईसोलेसन छोडेपछि राजविराज स्थित नेपाली सेनाले उक्त स्थलको सुरक्षा गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले भने आईसोलेसनमा भएको सम्पुर्ण घटना विवरण जानकारीमा आएको र थप जानकारी लिन आफु स्थलगत जाने तयारीमा लागेको जानकारी दिए । उनले भने–‘आईसोलेसनमा समस्या आएको धेरै पटक भयो, हामी वुझन जाँदैछौं ।’
संक्रमितले पटक पटक खानाको विषयमा गुनासो गरेपछि राजविराज नगरपालिकाका मेयर शम्भु यादवले वुधवार उनीहरुसँग भेटघाट गरी समस्याको समाधान गर्ने जनाएका थिए । चालममा समस्या विहिवारदेखि आईसोलेसनमा पुरानो चामलको ब्यवस्था गरिएको थियो ।
तर, खाना खाने समयमा भातमा किरा भेटिएपछि कोरोना भाइरस संक्रमितहरुले खाना नखाने अडान कसे । ब्यवस्थापनले पुनः खाना पकाएर उनीहरुलाई खान वोलायो। तर, दोस्रो पटक पनि किरा भेटिएको भन्दै संक्रमितहरुले किरा भेटिएको भन्दै तोडफोड गर्न थालेपछि समस्या उत्पन्न भएको जनाईएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !