- काठमाडौं,साउन २२ गते बिहीवार ।
- जनप्रभाब-सम्बादाता
नेपाली सेनामा रथी पदको ३ दरबन्दी थप गर्नेबारे अध्ययन गर्न गठित टिमले आफ्नो निष्कर्ष प्रधानसेनापतिलाई बुझाएको खबर छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी रथीको दरबन्दीबारे निष्कर्ष निकाल्ने जिम्मेवारी पाएको रथी प्रभुराम शर्मा नेतृत्वको टोलीले आफ्नो अध्ययन सकाएर प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रतिवेदन बुझाएको हो । शर्मा नेतृत्वको टोलीले निकालेको निष्कर्ष भने हालसम्म सार्वजनिक गरिएको छैन ।
नेपाली सेनामा रथी पदको दरबन्दी कम रहेको गुनासो रहँदै आएको छ । देशभर ८ वटा पृतना रहेको नेपाली सेनामा लगभग १ लाखको दरबन्दी छ । यीमध्ये रथीको दरबन्दी मात्रै २ वटा छन् । जबकि, नेपाली सेनाभन्दा सानो ७९ हजार ५ सय २३ दरबन्दी रहेको नेपाल प्रहरीमा हस्पिटलसमेत गरेर ४ वटा विशिष्ट श्रेणी एआईजीको दरबन्दी छ । ३७ हजारको दरबन्दी रहेको सशस्त्र प्रहरीमा पनि एआईजीका २ दरबन्दी छन् ।
नेपाली सेनामा रथीको २ मात्रै दरबन्दी रहेकाले त्यहीमध्येका कुनै अन्यत्र जाँदा ह्वांग हुने अवस्था छ । जस्तो अहिलेकै दृश्यलाई पनि हेर्न सकिन्छ । सेनाको २ रथीमा ईश्वर हमाल र प्रभुराम शर्मा छन् । तर यी २ मध्ये पनि हमाल यूएनकाे फोर्स कमाण्डरमा नियुक्त भएर गएपछि रथीतर्फ शर्मा मात्रै १ जना टिंग्रिङ्ग बाँकी बसेका छन् । रथी प्रभुराम शर्मामाथि बलाध्यक्ष र बलाधिकृत दुबै विभागकाे कार्यबाेझ परेकाे अवस्था छ ।
रथी पदको दरबन्दी थप गर्नुपर्ने आवश्यकता रहे पनि अहिले नै थप गर्न नहुने मत पनि रहेको छ । कोरोनाका कारण देश आर्थिक रूपमा जर्जर रहेकाले राज्यको खर्च बढाउन रथीको दरबन्दी थप गर्न नहुने मत यस्तो तर्क गर्नेहरूको रहेको छ । रथी पदकाे दरबन्दी थप बारे मिश्रित मत रहे पनि रथी शर्माले यसबारे सर्वेक्षण गरेर प्रधानसेनापतिको कोर्टमा बल फ्याँकिसकेका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापा दरबन्दी थप्नुपर्ने निष्कर्षमा पुगेमा यसले आकार लिन भने अझै केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रधानसेनापतिले रक्षामा, रक्षाले अर्थ र मन्त्रिपरिषद् मा लगेर स्वीकृत गराएपछि मात्रै यो दरबन्दी थप हुनेछ ।
सेनामा हाल २१ बेसिकका राजेन्द्र कार्की र शशीबहादुर सिंह रथी पदकाे दावेदार रहेका छन् । २२ बेसिकका सुवर्ण शाह, रघु भण्डारी रथी पदकाे दावेदार रहेका छन् । २३ बेसिकका रथी पदकाे दावेदार काेही छैनन् । २४ बेसिकका बालकृष्ण कार्की रहेका छन् । त्यसपछि सरोजप्रताप राणा, सीताराम खड्का र अनन्त कार्कीलगायत वरिष्ठ उपरथी रहेका छन् ।
वरिष्ठ उपरथी झंकर कठायत भने २०७७ साउन १५ बाट बिदा भइसकेका छन् । वरिष्ठ उपरथीमध्ये डीजीएमओ विभागमा रहेका कार्की २०७७ असोज अवकाश हुँदैछन् । त्यसैले कथंकदाचित रथी पदमा ३ दरबन्दी थप भएमा र राष्ट्रिय सुरक्षा परिषद् मा रहेका वरिष्ठ उपरथी शशीबहादुर सिंह र हेडक्वार्टरमा रहेका अर्का वरिष्ठ उपरथी २२ बेसिकका सुवर्ण शाह र रघु भण्डारी दावेदार रहेका छन् ।
त्यसपछि पालाे आउछ बालकृष्ण कार्की र सरोजप्रताप राणा, सीताराम खड्का र अनन्त कार्कीमध्ये दावेदार रहनेछन् र समय परिस्थिति र निर्णय अनुसार यिनै वरिष्ठ उपरथीहरू मध्येबाट ३ जनाको भाग्योदय हुने सम्भावना रहन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !