- बुटवल,साउन २१ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
भारतबाट सुर्ती ल्याउँदा पास गराइदिने भन्दै घुस लिने राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना पक्राउ परे। उनलाई सुर्ती व्यापारी अनिलकुमार झाले दुई लाख रुपैयाँ घुस दिदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिनु भयो । अख्तियारले दुवैजनालाई पक्राउ गरेको छ ।
उनका अनुसार दुवैजना बुटवल १३ बुद्धचोकबाट पक्राउ परेका हुन्। सुर्ती व्यापारीले रानालाई मासिक रुपमा घुस दिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको भुसालले बताए।
‘उनीहरुबीच मासिक रुपमै सुर्ती पास गराइदिने भनेर घुस लिनेदिने गरेको भन्ने खुल्न आएको छ-उनले भने-यसबारे अनुसन्धान भैरहेको छ।’
राजस्व चुहावट नियन्त्रणको कार्यमा सहजीकरण र प्रभावकारिता ल्याउन भन्दै राजस्व अनुसन्धानका कार्यालयले काम गर्छन्। बुटवलमा २०६९ सालदेखि कार्यालय स्थापना भएर राजस्व चुहावट हुन नदिन, नियन्त्रण र रोकथाम कार्यलाई प्रभावकारी बनाउन राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) गर्ने जिम्मेवारी पाएको थियो।
राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने कामको जिम्मेवारी पाएको बुटवल कार्यालयका प्रमुख नै घुससहित पक्राउ परेको पहिलोपटक हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !