- सुनसरी,साउन २१ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
जिल्ला प्रशासन कार्यालय सुनसरीले नेपाली नागरिकता लिएका नागरिकहरुको राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य सुरु गरेको छ ।
सुनसरी प्रशासनले सुनसरीमा स्थायी बसोवास गरेका नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरुको विवरण भरेर राष्ट्रिय परिचय पत्र विवरण दर्ताको सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सरकारले ७७ जिल्लाबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य यस आर्थिक वर्षबाट सुरु गरेकाले तोकिएको मापदण्ड भित्र रहेर विवरण दर्ता गरी सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले दैनिक विवरण दर्ता गर्नका लागि डिजीटल प्रणालीबाट नागरिकता प्रमाणपत्र लिन आउनेहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्रका लागि कम्प्युटरमा फोटो खिचेर अभिलेख गर्न थालेको छ।
सुनसरी प्रशासनबाट जारी भएको नागरिकता प्रमाणपत्र भएका नागरिकलाई नागरिकताको सक्कल प्रति र अन्य जिल्लाबाट नागरिकता लिएकाहरुको हकमा स्थायी बसोवास गरेको प्रमाणका कागजातहरु हुने पर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
अन्य जिल्लाको नागरिकता लिएकी महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने जनाएको छ ।
राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्यमा ११ नम्बर कोठामा दुई जना कर्मचारीले दैनिक सेवा प्रवाह गर्ने गरेका छन ।
राष्ट्रिय परिचय पत्रमा नेपाली नागरिकहरुको व्यक्तिगत विवरण नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, १० वटा औंलाको छाप, आखाँको नानि, परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर, चिप्सलगायत समावेश रहने छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !