- काठमाडौं,साउन १७ गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
कोरोनाबाट निको भएका बिरामीको रगतको प्लाज्माबाट कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको उपचार गर्ने पद्दति नेपालमा पनि सुरु भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरी निको भएका नुवाकोटका एक बिरामीले शिक्षण अस्पतालमा उपचाररत ५८ बर्षीया बिरामीलाई रगतको प्लाज्मा दान गरेका छन् । यदि तपाई कोरोनालाई जितेर घर फर्किनु भएको हो भने तपाइको रगतको प्लाज्माबाट अर्को ३ जना संक्रमितले कोरोना जित्न सक्छन् ।
विश्वका धेरै देशले कोरोनाको गम्भीर बिरामीको उपचार गर्न निको भएका बिरामीको रगतको प्लाज्मा प्रयोग गरिरहेका छन् । नेपालले पनि शुक्रराज अस्पतालबाट निको भएर डिस्चार्ज भएका नुवाकोटका एक बिरामीको प्लाज्मा प्रयोग गरेर पहिलो पटक त्रिवि शिक्षणमा रहेका एक ५८ बर्षीया संक्रमितको उपचार सुरु गरेको छ ।
बिहीबार ति निको भएका बिरामीले प्लाज्मा दान गरेका हुन् । कोरोना निको भएको २ हप्ता भित्र स्वास्थ्य मन्त्रालय तथा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद वा कुनै सरकारी अस्पतालमा सम्पर्क गरेर रगत दान गरे जस्तै प्लाज्मा दान गर्न सकिन्छ ।
निको भएको दुई हप्ता भित्र दान गर्दा राम्रो भने पनि पछि दिन पनि नमिल्ने भने होइन । रगत दान गरेपछि त्यसबाट प्लाज्मा छुट्याइन्छ र गम्भीर अवस्थामा रहेका संक्रमितको शरीरमा पठाइन्छ । रगतको प्लाज्मा दान गर्ने र लिने व्यक्तिको रगत समूह भने मिल्नुपर्ने हुन्छ ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य मन्त्रालयमा कोरोना निको भएका करिब २० जना व्यक्तिले गम्भीर बिरामी बचाउन आफ्नो रगतको प्लाज्मा दिन तयार रहेको भन्दै सम्पर्क गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !