- रसुवा ,साउन १३ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
तातोपानी र केरुङ नाका पहिरोले अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा स्याउको अभाव हुन थालेको छ। यो सँगै स्याउको भाउ पनि आकाशिएको छ। कुलेश्वरस्थित फलफूल बजारमा गत सातादेखि स्याउको स्टक सकिएको कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्वर वानियाँले बताए । ३ दिनदेखि बजारमा स्याउ खोज्दा नपाइने अवस्था सिर्जना भएकोले भाउ पनि महंगिएको उनको भनाई छ।
पहिरोका कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएपछि आयात गरिएका स्याउ भन्सारमा रोकिएको उनले बताए।
अभावसँगै होलसेल बजारमै स्याउको मूल्य ३ सय देखि ३ सय ७५ रुपैयाँ रहेको बानियाँले जानकारी दिए। खुद्रा बजारमा भने उपभोक्ताले खरिद गर्दा ४ सय रुपैयाँ देखि ५ सय रुपैयाँसम्म हाल्ने गरेका छन् ।
सामान्य रुपमा उपत्यकामा मात्र दैनिक ५० टनको हाराहारीमा स्याउको खपत हुने गरको छ । यसैकारण चिनियाँ स्याउ बजारमा नआएसम्म स्याउको माग पूरा गर्न नसक्ने अध्यक्ष बानियाँले जानकारी दिए। अहिले आँपको सिजन भएपनि उपभोक्ताले फुजी स्याउ बढी रुचाउने गरेका छन् ।
बजारमा स्याउको अभाव कम गर्न काठमाडौका व्यवसायीले विराटनगरबाट समेत स्याउ मगाइरहेको उनले बताए। विराटनगरमा पानीजहाज मार्फत भारतीय स्याउ आयात हुने गरेको छ। हाल उपत्यकामा स्याउको माग केही हदसम्म पूरा गर्नका लागि विराटनगरबाट दैनिक ३० देखी ३५ टन स्याउ भित्रिने गरेको बानियाँले जानकारी दिए।
नेपालमा भारतीय स्याउले केही महिना मात्र माग धान्न सक्छ। अन्य समय चिनियाँ स्याउनै आयात हुने गरेको छ । भारतबाट आयात भन्दा चीनबाट आयात गर्दा सस्तो पर्ने हुनाले व्यवसायीले चिनियाँ स्याउ बढी आयात गर्दै आएका छन्। चिनियाँ स्याउ बजारमा आउन थालेपछि स्याउको मूल्य घट्ने वानियाँले बताए।
हाल रसुवा भन्सारमा करिब ४० वटा कन्टेनर पास भएर राकिएको छ । उक्त कन्टेनरमा स्याउ र लसुन रहेको छ । भन्सारमा भएका स्याउहरु उपत्यकामा आइपुगे पछि स्याउको होलसेल मूल्य प्रतिकेजी १ सय रुपैयाँ देखी १ सय ५० रुपैयाँसम्म झर्ने उनले जानकारी दिए। ४० कन्टेनर स्याउ बजारमा आउने बितिकै उपभोक्ताले प्रतिकेजी २ सय देखी २ सय ५० रुपैयाँमै किन्न सक्ने उनले बताए।
तातोपानी नाका पहिरोले बन्द भएको करिब १ महिना हुन लागेको छ । बजारमा स्याउको आपूर्ति कम हुन नदिनका लागि वाणिज्य मन्त्रालयले तातोपानी नाकामा भएका स्याउका कन्टेनर केरुङमार्फत ल्याउन निर्देशन दिएको थियो ।
चाँडै बिग्रने सामान तथा बस्तुहरु केरुङ नाकामा डाइर्भट गरेर ल्याउने व्यवस्था गरिएको थियो । लगातारको पानीले रसुवागढी जाने सडकखण्ड पहिरोले रोकेपछि करिब ४ दिन देखि चीनबाट आयात गरिएका कुनैपनि सामान उपत्यका पठाउन नसकेको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख अधिकृत पुण्यबिक्रम खड्काले बताए ।
सोमबार बेलुकासम्म अवरुद्ध सडक सफा भएमा उपत्यका पठाउने तयारी गरिरहेको खड्काले जानकारी दिए । स्याउको मात्र नभइ अन्य कन्टेनर पनि पास भएर रोकिएको उनले बताए।
अनारको मूल्य सस्तिने
भारतमा अनार फल्ने सिजन भएकोले अबको केही दिनमै अनारको मूल्य समेत घट्दै जाने अध्यक्ष वानियाँले बताए ।
नेपालमा अनारको व्यवसायिक खेती नगर्ने भएकाले बर्षेनी भारतमा र्निभर हुने अवस्था रहेको छ । भारतबाट वर्षको करिब १ अर्वको हाराहारीमा अनार आयात हुने फलफूल बजारले जानकारी दिएको छ ।
अब आयात हुने अनार सिजनको भएकोले स्वादिष्टसँगै सस्तो पनि पर्दछ । नयाँ लट आउन थालेपछि बजारमा उपभोक्ताले प्रतिकेजी एक सय २५ देखी २ सय रुपैयाँसम्म अनार किन्न पाइने अवस्था सिर्जना हुने उनले बताए ।
फलफूल बजारमा हाल स्याउ, केरा, मेवा र आँप बढी बिक्री भइरहेको छ । हाल दैनिक ७० लाखको आँपको आयात भइरहको छ । बानियाँका अनुसार सिजनमा आँपको बिक्री राम्रो भएपनि अन्य समयमा स्याउको नै बढी व्यापार हुने गरेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया !