- जनकपुर,साउन ११ गते आइतबार ।।।
- जनप्रभाब-सम्बादाता
नेपालमा कोरोना भाइरसको सबैभन्दा बढी जोखिममा रहेको प्रदेश २ मा हालसम्म ४ हजार ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज मात्र एक न्यायाधिशसहित प्रदेश २ मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालय प्रदेश २ को तथ्यांक अनुसार सप्तरीमा एक न्यायाधिश र प्रहरी सहित सातजना र धनुषामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ मा हालसम्म ४ हजार ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु समेत भएको छ र एकजना मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।
प्रदेश २ मा सबैभन्दा बढी रौतहटमा कोरोना संक्रमित फेला परेका छन्। रौतहटमा हालसम्म १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७ सय १९ जना निको भएर आफ्नो घर फर्केका छन् भने २ जनाले आफ्नो ज्यान गुमाइ सकेका छन्।
रौतहट पछि महोत्तरीमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । महोत्तरीमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय ३७ जना निको भएर घर फर्केका छन् र एकजनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।
सर्लाहीमा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६ सय २२ जना निको भएर आफ्नो घर फर्केका छन् । धनुषामा ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ सय १३ जना निको भएर आफ्नो घर फर्केका छन् । सप्तरीमा ४ सय २४ जना संक्रमित मध्ये ३ सय २५ जना निको भएर आफ्नो घर फर्केका छन् र १ जनाको मृत्यु भएको हो ।
पर्सामा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ सय १७ जना निको भएर आफ्नो घर फर्केका छन् र ५ जनाले ज्यान गुमाएपनि एकजनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।
सिरहामा २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ सय ५४ जना निको भएर आफ्नो घर फर्केका छन् । बारामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ सय १६ जना निको भएर आफ्नो घर फर्केका छन् भने दुई जनाको मृत्यु भएको छ । त्यस्तै अन्य ठाउँमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रहरीदेखि न्यायाधीशसम्म संक्रमित
कोरोनाको सबैभन्दा बढी संक्रमित भएको प्रदेश २ मा सुरक्षामा खटेका सुरक्षाकर्मी देखि अदालतका न्यायाधिश सम्म संक्रमित भएका छन्। प्रदेश २ को विभिन्न जिल्लामा खटेका ३६ जना सुरक्षाकर्मीमा अहिले सम्ममा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनु भयो ।
उनका अनुसार ३६ जना संक्रमित भएपनि ३३ जना निको भएर आफ्नो नियमित काममा फर्किसकेका छन् भने तीनजना उपचारको क्रममा रहेका छन् ।
कोरोनाको कारण भारतबाट आएका सर्वसाधारणहरु मात्र नभई उपचारमा खटेका चिकित्सक, सरसफाई कर्मचारी, जनप्रतिनिधिहरु समेत संक्रमित भएका छन् ।
धनुषाको विदेह नगरपालिकाका प्रमुखमा समेत कोरोना संक्रमण पुष्टि भएको हो। पर्सा जिल्लामा राष्ट्रिय वाणिज्य बैँकका प्रबन्धकमा समेत शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो।
दुई शहरमा निषेधाज्ञा
कोरोना संक्रमण समुदायमै फैलिसकेपछि प्रदेश २ को दुई वटा शहरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ भने पर्साको वीरगंज महानगरपालिका र सप्तरीको राजविराज नगरपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण पुष्टि भएपछि अहिले निषेधाज्ञा जारी गरिएको छ।
यस्तै कोरोनाको उच्च जोखिमबाट बच्न घरमै सुरक्षित क्वारेन्टाइनमा बस्न प्रशासनले आग्रह समेत गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !