- विराटनगर,साउन १० गते सनिवार ।।।
- जनप्रभाब-सम्बादाता
मोबाइल लुटपाट एवं चोरीका घटना बढेसँगै नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोश खड्काले ‘स्पेशल टास्क फोर्स’ बनाएर परिचालन गरेको छ ।
एसपी सन्तोश खड्काले प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा ‘टास्क फोर्स’ बनाएर परिचालन गरेका हुन् । ‘मोबाइल चोरी एवं लुटपाटका घटना अत्याधिक हुने गरेको पाइयो । नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकाले सात जना प्रहरीको छुट्टै र विशेष टोली बनाएर परिचालन गरिएको छ,’ खड्काले भने ।
चोरी एवं लुटपाट नियन्त्रण गर्ने, हराएका मोबाइल फेला पार्ने र घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी उक्त टोलीलाई दिइएको छ । सबै भन्दा बढी चोरीका घटना प्रदेश १ को राजधानी विराटनगरमै भएका छन् । जिल्ला प्रहरी कार्यालयमा पछिल्लो एक वर्षमा मोबाइल चोरी भएका १ हजार ३ सय ५९ वटा उजुरी परेका थिए ।
करिब ९७ प्रतिशत मोबाइल विराटनगरबाटै हराएका एवं लुटपाट भएका छन् । मोबाइल हराएपछि घटनाका बारेमा जानकारी गराउँदै सम्बन्धित धनीले खोजतलासका लागि प्रहरीमा निवेदन दिने गरेका छन् ।
तर घटना धेरै भए पनि प्रहरीले न्युन मात्रामा फेला पारेर मोबाइल सम्बन्धित धनीलाई बुझाउने गरेको हो । पछिल्लो एक वर्षमा एक हजार तीन सय ५९ वटा मोबाइल चोरी भएको निवेदन परे पनि प्रहरीले एक सय ८३ वटा मात्रै फेला पारेर धनीलाई बुझाउन सकेको छ ।
मोबाइल चोरी धेरै भए पनि थोरै मात्रै फेला पार्न सकेपछि चोरी नियन्त्रण र घटनामा संलग्नलाई कारवाही गर्न प्रहरीको छुट्टै टोली बनाउनु परेको प्रहरीको भनाइ छ । असार ९ बाट साउन ८ गतेसम्म एक महिनाको अवधिमा मात्रै विराटनगरबाट ७३ वटा मोबाइल चोरी भएको उजुरी मोरङ प्रहरीमा परेको छ ।
छोटो अवधिमा मोबाइल चोरी धेरै भएपछि ‘स्पेशल टास्क फोर्स’ बनाएर परिचालन गरिएको एसपी खड्काको भनाइ छ । टोलीले हराएका मध्ये २८ वटा मोबाइल एक साताको अवधिमा फेला पारेको छ ।
फेला पारिएका मोबाइल शुक्रबार प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगायो । मोबाइल लुटपाट एवं चोरीमा संलग्न सुरज उरावसहित नौ जनालाई पक्राउ गरेर डाँका र चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !