- जनकपुर,साउन ९ गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
पेस्तोल देखाएर पैसा लुट्ने २ जना र लुट्ने योजनामा संलग्न १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार धनुषाको कमला नगरपालिका वडा नं. २ का २० वर्षीय धिरजकुमार अधिकारीलाई पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटिएको थियो ।प्रहरीले पैसा लुट्ने २ जनालाई पक्राउ गरेर केरकार गर्दा लुटाउने व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कपिलेश्वर जलाद पुल नजिक रहेको टीभीएस सोरुममा कार्यरत अधिकारीलाई लुट्ने दुई जनालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
सोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरको बैँकमा जम्मा गर्न आउने क्रममा धिरजलाई अज्ञात समुहले लुटेको थियो । लुटेर भागेका अज्ञात समुहको तलाश गर्दा आज विहान १ बजे धनुषाको शहीदनगर नगरपालिका वडा नं. ७ ताराटोलका २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ का २१ वर्षीय छोटु झालाई नियन्त्रणमा लिएको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त सोरुममा काम गर्ने कर्मचारी धिरजकुमार अधिकारीसहितको संलग्नतामा सुजित मण्डल र छोटु झाले एकआपसमा बाँड्ने सहमतिमा योजना बनाई पैसा लुटेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
यता छोटुको घरमा लुकाई छिपाई राखेको अवस्थामा ३ लाख ५६ हजार रुपैया बरामद गरेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो । यससम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !