- काठमाडौं,साउन ७ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
प्रधानसेनापति पूर्णचन्द्र थापाको छवि सुधारवादी प्रधानसेनापतिको छ । सम्पत्ति सार्वजनिकदेखि विभिन्न अनियमितता, अनुशासनहीन काम, आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्ने उनको कार्य प्रशंसनीय रहेको छ । तर, कतिपय घटनामा उनले दोहोरो मापदण्ड अपनाएको पाइएको छ । निकटताका आधारमा उनले निर्णय गर्दा एउटै अपराधमा कोही दण्डित त कोहीले उन्मुक्ति पाएका छन् ।
भ्रष्टाचारविरुद्ध निर्मत प्रस्तुत भएको बताउने प्रधानसेनापति थापाले कर्णेल भूपालमान अधिकारीलाई गरेको कारबाही उल्लेखनीय मध्ये एक हो भन्छन् सैनिक अधिकारीहरू । अधिकारीमाथि १ करोड ८० लाख जरिवाना, २ महिना कैदसहित सेवाबाट हटाइएको थियो । तर, प्रधानसेनापति ाथापाले उस्तै आरोप लागेका अर्का कर्णेललाई ५ लाख जरिवाना तिराएर करिअरमा कुनै बाधा नपर्ने गरी २ वर्ष बढुवा मात्र रोक्का गरेका छन् । आफूनिकट भएकै कारण प्रधानसेनापति थापाले एउटै अभियोगमा फरक दुई निर्णय गरेको स्रोतको गुनासो रहेको छ ।
आर्थिक प्रशासन विभाग प्रमुख र बजेट निर्देशकको समेत भूमिका निर्वाह गरेका उपरथी भुवन अधिकारीले अनियमितता गरेको प्रशस्तै प्रमाण भेटिएका थिए । सैनिकभित्र उनलाई कारबाही गर्नुपर्ने मत त्यसपछि चर्को बनेको थियो । तर नाताले प्रधानसेनापति थापाको मामा पर्ने भनिएका उपरथी अधिकारीलाई सातखत माफी दिइएको छ । दुई तारे इन्जिनियर जर्नेल योगेन्द्र खाँड र पाइलट जर्नेल सुनील श्रेष्ठलाई पनि उसैगरी आग्रहका आधारमा सुरक्षित अवतरण गराइएको सैनिक अधिकारीको दाबी छ ।
प्रधानसेनापति थापाले गुनासो व्यवस्थापनमा पनि उदासीनता देखाउने गरेको सैनिक अधिकारीको गुनासो छ । सैनिक अधिकारीका अनुसार, पीरमर्काको सुनुवाइ सम्बन्धमा सैनिक नियमावली २०६९ मा व्यवस्था भएअनुसार, बढुवामा चित्त नबुझी गुनासो गर्न पुगेकाहरूलाई पनि कुनै प्रतिक्रिया नदिई निराश पार्ने गरिएको छ । प्रमुख सेनानी राधाकृष्ण र अर्जुन थापालगायतले बढुवामा चित्त नबुझेको भन्दै निवेदन दिए पनि जानकारीसम्म नगराइएको बताइएको छ । बरु, राष्ट्रपतिको अंगरक्षकका रूपमा कार्यरत प्रमुख सेनानी थापालाई विशेष पदोन्नतिबाट महासेनानीको फुली लगाइएको छ ।
सरुवाका लागि पद्धति र प्रणाली बसाल्ने भनिए पनि प्रधानसेनापति थापाले सिन्कोसम्म नभाँचेको आरोप लागेको छ । थिति बसाल्ने प्रधानसेनापतिको कुरा गफमा सीमित भएपछि कर्नेलहरू टंक भट्ट, माधव थापा (जसलाई छायाँ प्रधानसेनापति समेत भन्ने गरिन्छ), हिम्मत विष्ट, लक्ष्मण थापालगायतलाई पनि निकटताकै आधारमा वर्षौंदेखि जंगीअड्डामा अवसर दिएर राखिएको छ । तर भूपू जर्नेल वलदेव महतका भाइ कर्नेल सोवेन्द्र महतलाई सिराहाबाट बुटवल र भूपू जर्नेल अनुज बस्नेतका भाइ कर्णेल प्रसिद्धि बस्नेतलाई दीपायलबाट आएको १८ महिनामा पुनः दीपायल नै पठाइएको छ ।
यता, भाइ भएकै कारण कर्णेल लक्ष्मण थापा त सहायक रथी प्रमुख हुने सैनिक संगठन विभागका निमित्त प्रमुखमा करिब ३ वर्षदेखि हालीमुहाली गरिरहेका छन् । उनले सात वर्षदेखि उपत्यका पनि छाड्नु परेको छैन । सिंहदरबारमा गणपति रहँदा कमजोर कमान्ड कन्ट्रोलका कारण नसियत पाएका कर्नेल मानबहादुर महरालाई गुणस्तर निर्धारण गर्ने जिम्मेवारी दिई एनडीसी तालिमका लागि छनोट गरिएको छ । एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा प्रतिप्रश्न गर्दै भने– ‘यिनै ५–७ जनाको भरमा सेना चलेको हो त ?’
शान्ति सेना छनोटलाई लिएर पनि प्रधानसेनापति थापाको आलोचना हुन थालेको छ । रक्षा मन्त्रालयबाट लागू भएको शान्ति सेना छनोट कार्यविधि २०७५ मा शान्ति सेनामा भाग लिने गणपतिको छनोट प्रतिस्पर्धाबाट हुने व्यवस्था छ । तर त्यसको पालना नगरी आफूनिकटकालाई विगतमा जस्तै गरी अवसर दिइएको छ । नेसनल डिफेन्स कोर्ष वा सोसरहको तालिमको शिक्षार्थी मनोनय कार्यविधिअनुसार गर्नुपर्नेमा त्यसविपरीत भएको गुनासो सैनिक अधिकारीले गरेका छन् ।
सैनिक सेवा नियमावली २०६९ संशोधनमा पनि प्रधानसेनापति थापाले चासो देखाएका छन् । आफ्ना भाइलाई प्रधानसेनापति बनाउनकै लागि २०७५ मा संशोधन भएको नियमावली पुनः संशोधनको तयारी गरिएको दाबी स्रोतको छ । नेपाली सेनामा हाइयर कमान्ड तालिम सुरु भएपछि स्टाफ कलेज तालिममा चार्ली ग्रेडिङ र स्नातक उत्तीर्ण नहुनेले गर्न नपाउने नियम रहेकोमा त्यसलाई पनि संशोधन गर्न लागिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !