- सुनसरी,साउन ७ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
भारतको कलकत्ताबाट रानी नाका बिराटनगर हुँदै नेपाल भित्रिएको प्रतिवन्धित माछा सुनसरी प्रहरीले बरामद गरी नष्ट गरेको हो ।
बन्दिपुर सिरहा सम्मका लागि भनी लैजादै गरिएको भारतीय नम्बर प्लेटको ट्रक इनरुवाबाट नियन्त्रणमा लिएको प्रहरीले ७५ सय १० केजी माछा नष्ट गरेको हो ।
सुनसरी प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवन्धित माछा आयात गरिएको पाइएकाले नष्ट गरिएको जनाएको छ । करिव १५ लाख बजार मूल्य बराबरको उल्लेख गरिएको सो माछा प्रहरीले कार्यालय हातामा खाल्डो खनी पुरेको छ ।
बिलमा ५८ सय २० केजी उल्लेख भएपनि चेकजाँचका क्रममा ७५ सय १० किलो पाइएको समेत प्रहरीले बताएको छ । सुनसरी प्रहरीका अनुसार रानी भन्सार सहित आवश्यक बिल र इजाजत सहित आएको माछा सहितको ट्रक शंका लागि चेकजाँचको क्रममा प्रतिवन्धित रहेको फेला परेपछि नष्ट गरिएको हो ।
क्याट फिस भनेर चिनिने मागुर जातीको माछा पैठारी तथा निकासी, ओसार पसार र बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था अनुरुप मानव स्वास्थ्यका लागि हानिकारक समेत रहेको सो माछा नियन्त्रणमा लिई नष्ट गरिएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताउनु भयो ।
भारत हुँदै मोरङको रानी नाकाबाट नेपाल भित्र्याइएको माछा धनीले पशु क्वारेन्टाइन कार्यालय बिराटनगरबाट प्रमाण पत्र समेत लिएको देखिएको छ । फ्रेस खाने माछा भनि बिराटनगर क्वारेन्टाइनबाट इजाजत लिएको पाइएको छ । बिराटनगर महानगरपालिकालाई सेवा शुल्क समेत बुझाइएको छ ।
राजश्व अनुसन्धान विभागको अनलाइन विल, राष्ट्रिय बाणिज्य बैंकको नगद विल र भन्सार प्रज्ञापन पत्र समेत लिएर माछा भारतहुँदै बिराटनगरबाट भित्रिएर सुनसरी आइपुगेको देखिन्छ । प्रहरीले WB25J6141 नम्बरको ट्रक सहित ट्रक चालक पश्चिम बंगालका २४ वर्षीय मो.इमामुल गोल्दारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार प्रतिवन्धित उक्त माछा लामो समय देखि निर्वाध आयात भैरहेको सुचनाका आधारमा चेकजाँच गरिएको हो ।
प्रहरी प्रमुख थापाका अनुसार मानव स्वास्थ्यकालागि हानिकारक मानिएको र प्रतिवन्ध लगाइएको माछा भन्सार हुँदै आवश्यक सबै कागजात सहित भित्रिनु गम्भिर विषय भएको हो । निष्पक्ष छानविन गरिनु पर्ने माग गरेको सुनसरी प्रहरीले प्रतिवन्धित माछाको बजार निकै ठुलो रहेको पाइएकाले सो तर्फ सबैको ध्यान जानु जरुरी रहेको बताएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले समेत बरामद गरी सार्वजनिक गरि नष्ट गरिएको माछा आयात निर्यातमा प्रतिवन्ध रहेको बताउनु भयो । उहाँले सो विषयमा पशु क्वारेन्टाइन र भन्सार कार्यालय जिम्मेबार हुने भएकाले छानविनको प्रकृया अघि बढाइने बताउनु भयो ।
प्रहरी स्रोतका अनुसार माछा छुटाउन जिप्रका सुनसरीले निकै दबाबको सामना गर्नु परेको छ । पशु क्वारेन्टाइन बिराटनगरले खान योग्य प्रमाणित गरेको माछा प्रहरीको फन्दामा परेपछि भने क्वारेन्टाइन भाण्टाबारीले प्रतिवन्धित भन्दै नष्ट गर्न सिफारिस गरेको पाइएको छ ।
पत्रकार सम्मेलन नगरी माछा नष्ट गर्न निकै दबाबका बिच कार्यालयले प्रतिवन्धित माछा निर्वाध आयातको विषय सार्वजनिक गरेको प्रहरी स्रोतको भनाई छ ।
माछा कसलाई पठाएको भनी नखुलेपनि भारतबाट भने मोरङ बिराटनगरको एस.जी.आइ.एग्रो प्रालिले झिकाएको देखिएको छ । आवश्यक सबै कागजात सोही प्रालिका नाममा रहेको पाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !