- महेन्द्रनगर ,साउन ५ गते सोमबार ।।
- जनप्रभाब
वडा प्रहरी कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले एक समारोहबीच वडा प्रहरी कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै सुवेदीले अन्य प्रदेशहरुमा भुकम्पका कारण धेरै कार्यालयहरु भत्किएको र त्यसयता नयाँ सुविधा सम्पन्न भवनहरु बनेपनि सुदूरपश्चिममा भने त्यस्तो नरहेको बताए । उनले अहिले जिल्ला प्रहरी कार्यालय र केहि कार्यालय बाहेक अन्य सबै प्रहरी कार्यालय भाडामा बस्नु पर्ने अवस्था भएको बताए ।
सुवेदीका अनुसार यसवर्षप्रदेश सरकारबाट थप १८ वटा नयाँ भवन निर्माणका लागि बजेट आएको छ । उनले इलाका प्रहरी कार्यालय गड्डाचौकीलाई समेत नयाँ डिजाइनका साथ छुट्टै तरिकाले निर्माण गरिने बताए ।
यस्तै, कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कारागार, प्रहरी भवन निर्माण तथा कैदीबन्दीको क्षमता अभिवृद्धिका लागि भीमदत्त सहकार्य गर्न तयार रहेको बताए । उनले प्रहरीबाट सबैले अपेक्षा धेरै गर्ने बताउदै त्यसका लागि व्यवस्थापनमा पनि ध्यान दिन जरुरी रहेको बताए ।
यसैगरी, प्रहरीको क्षमता अभिवृद्धिका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले नागरिकका हरेक कार्यमा प्रहरी संलग्न हुने गरेको बताए । प्रहरीले बेइमानी गरे त्यसलाई सरकारको कमजोरीका रुपमा लिइने भएकाले सरकारप्रति नागरिकको धारणा बनाउन प्रहरीको भूमीका महत्वपूर्ण बताए ।
कुल एक करोड ७६ लाख ९ हजार ६ सय ६ रुपैयाँ मा २०७४ साल फागुनमा सम्झौता भएको थियो । १४ कोठा रहेको वडा प्रहरी कार्यालयको भवनलाई आधुनिक तथा सुविधा सम्पन्न तरिकाले निर्माण गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !