- एजेन्सी,साउन ३ गते सनिवार ।
- जनप्रभाब
भारतीय विदेशमन्त्री एस जयशंकरले पछिल्लो समय नेपाल-भारत सम्बन्धथप सुदृढ भएको दाबी गरेका छन्। भारतीय कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धीले एक भिडियो सन्देश जारी गर्दै नरेन्द्र मोदी सरकारले भारतको विदेश नीति र छिमेक नीतिलाई गलत ढंगले सञ्चालन गर्दा भारत अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएपछि विदेशमन्त्री जयशंकरले नेपाललगायत दक्षिण एसियाका सबै देशसँग भारतको सम्बन्ध पहिलेको तुलनामा थप सुदृढ भएको दाबी गरेका हुन्।
चीन–भारतबीच लद्दाखमा अहिलेकै अवस्थामा समस्या किन आयो भन्दै कांग्रेस नेता राहुल गान्धीले प्रश्न गरेका छन्। भारतीय जनता पार्टी नेतृत्वमा रहेको मोदी सरकारको असफल कूटनीतिका कारण चीनले भारतमाथि आक्रमण गर्न यो समयलाई उपयुक्त ठहर्याएको गान्धीको आरोप छ।
‘के कारणले चीनले भारतमाथि आक्रमण गर्न यो समयलाई अुनकुल ठान्यो त?,’ प्रश्न गर्दै नेता गान्धी दाबी गर्छन्, ‘भारत सरकारको असफल विदेश र छिमेक नीति रहेका बेला चीनले भारतमाथि आक्रमण गर्न यही समय पायो।’
‘कुनै पनि देश एक कारणले मात्रै सुरक्षित हुँदैन। त्यसका लागि विभिन्न कारणले काम गरेको हुन्छ। देशले सञ्चालन गर्ने विदेश नीति, छिमेक नीति र अर्थतन्त्रका कारण सुरक्षित रहने भन्दै नेता गान्धी थप्छन्, ‘गएको ६ वर्षमा भारतले यी सबै क्षेत्रमा मुस्किलको सामना गर्नु परेको छ।’
पछिल्ला वर्षमा भारततर्फ नेपाललगायत अन्य छिमेकी देश ज्यादै नकारात्मक भएको उनको आरोप छ। गान्धीको आरोपको प्रतिरोध गर्दै विदेशमन्त्री जयशंकरले १७ वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गरेको बताउँदै विकास निर्माणका कार्य जस्तै- बिजुली, इन्धन, आवास र सडक निर्माणका कार्यमा भारतले नेपाललाई सहयोग गरेको ट्विटरमा गान्धीलाई जवाफ दिएका छन्।
सन् १९९७ मा भारतका तत्कालीन प्रधानमन्त्री आई के गुजरालले नेपालको औपचारिक भ्रमण गरेपछि सन् २०१४ मा मोदीले नेपालको औपचारिक भ्रमण गरेका थिए। सन् २००२ मा भारतीय प्रधानमन्त्री अटल विहारी वाजपेयी सार्क सम्मेलनमा सहभागी हुन नेपाल आए पनि त्यसलाई औपचारिक नमान्दा १७ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गरेका हुन्।
यो विषयलाई विदेशमन्त्री जयशंकरले नेपाल-भारत सम्बन्ध मापनको आधार बनाएका छन्। गान्धीले नेपालसँगको सम्बन्धलाई मोदी सरकारले बिगारेको आरोप लगाएपनि विदेशमन्त्री जयशंकरले भने ‘नेपाल-भारतबीचको सम्बन्ध कस्तो छ भनी जान्न नेपालका जनतालाई सोध्न आग्रह गर्दै जयशंकरले कांग्रेस नेता गान्धीलाई जवाफ फर्काएका छन्।
पछिल्लो समय भारतमा नेपालले चीनको पक्ष लिएको व्यापक चर्चा हुने गरेको छ। विशेषगरी, सन् २०१५ मा नेपालको संविधान जारी हुने क्रममा भारतले गरेको अनावश्यक हस्तक्षेप र आर्थिक नाकाबन्दीपछि नेपाल चीन नजिक गएको बुझाई भारतीयमा रहेको पाइन्छ। सोही विषयलाई संकेत गर्दै गान्धीले मोदी सरकारप्रति लगाएको आरोपलाई विदेशमन्त्री जयशंकरले इन्कार गरेका हुन्।
गत १६ कात्तिकमा भारतले आफ्नो राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय भूभागमा समेटेपछि नेपालले भारतीय कदमको विरोध गरेको थियो। विरोधका बाबजुत २६ बैसाखमा भारतले नेपाली भूभाग मिचेर सोही क्षेत्रमा बनाएको सडक उद्घाटन गरेपछि नेपालले ३१ जेष्ठमा ती क्षेत्रलाई समेट्दै संविधान संशोधन गरेको छ। त्यसयता नेपाल-भारतबीच नेतृत्व तहमा दोहोरो बोलचालको अवस्था नरहेका बेला दुईपक्षीय सम्बन्ध इतिहासकै कम्जोर अवस्थामा प्रवेश गरेको विश्लेषण हुने गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !