- काठमाडौं,साउन २ गते शुक्रबार ।
- जनप्रभाब
पशुपतिनाथको मन्दिर दर्शनार्थीका लागि खुला गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ । कोरोना भाइरसको महामारी सुरु भएलगत्तै बन्द भएको पशुपतिनाथको मन्दिर खुल्ला गर्न पशुपति क्षेत्र विकास कोष तयारी अवस्थामा रहेको छ । सरकारले महामारी रोकथामका लागि गरेको लकडाउनका कारण बन्द रहेको मन्दिरमा मूल भट्टले गर्ने नित्य पूजा नियमित भएपनि सर्वसाधारणका लागि भने अझै बन्द नै रहेको छ ।
“सरकारले निर्णय गरेको अवस्थामा दर्शनार्थीका लागि मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा गरेर बसेका छौं, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले न्यूज २४ लाई बताउनु भयो । साथै उहाँले सरकारसंग यस विषयमा कुरा भइरहेको समेत जानकारी दिनुभयो ।
‘भीडभाड हुने स्थान अन्तिममा मात्रै खुला गर्ने सरकारको निर्णय छ, त्यसैले पनि कहिलेबाट मन्दिर खुल्छ भन्ने यकिन छैन, डा। ढकाल भन्नुभयो । यद्यपि विकास कोष सरकारले मन्दिर खुलाउने निर्णय गरेमा मन्दिर सञ्चालनको तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।
साउनको पहिलो सोमबार खुल्ने सम्भावना कति ?
पशुपति विकास कोषसंगको असार २८ गते बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको भए पनि पहिलो सोमबार मन्दिर खुल्ने सम्भावना भने टरेको छ । मन्त्रीको निर्देशन अनुसार विकास कोषले तयारी पूरा गरेको भए पनि पहिलो सोमबारसम्म त करिब यो सम्भावना नरहेको सदस्य सचिव ढकालले बताउनुभयो । सरकारको निर्णय पर्खिरहेका छौं, पहिलो सोमबार त सम्भावना छैन, ढकालले भन्नुभयो ।
मन्दिर खोल्ने तयारी गर्न मन्त्री भट्टराईले दिएका थिए निर्देशन
‘मुलुक विस्तारै विश्वव्यापी महामारी कोभिड–१९ को त्रासबाट माथि उठ्दै गरेको छ,’ मन्त्री भट्टराईले कोषका पदाधिकारी, सदस्य तथा कर्मचारीलाई निर्देशन दिँदै भन्नुभएको थियो, ‘विस्तारै सार्वजनिक सवारी साधनहरू पनि चल्न थालेको अवस्था छ ।
निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी थाल्नुहोस् ।’ सरकारले सार्वजनिक यातायात समेत खुला गर्ने निर्णय गरिसकेको छ अवस्थामा स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर पूजा गर्ने व्यवस्थाको तयारी गर्न मन्त्री भट्टराईले निर्देशन दिनुभएको थियो ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा ब्रतालुको परम्परागतरुपमा नै भीड लाग्ने गर्छ । तर, दर्शानार्थीहरुलाई मन्दिर खुल्ला गर्न तयारी अवस्थामा रहेको भएपनि सरकारले मन्दिर खोल्ने वा नखोल्ने भन्ने निर्णय गर्न नसक्दा साउनको सोमबार दर्शानार्थीहरुले पशुपति नाथको दर्शन गर्न पाउने वा नपाउने भन्ने अन्यौल बन्न पुगेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण चैत १० गतेबाट पशुपतिनाथमा पूजा गर्न प्रतिबन्ध लगाइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !