- झापा,साउन १ गते बिहीबार ।
- जनप्रभाब-आलोक यादव
२०६३ साल चैत २४ गते झापा जिल्लाको टाघनडुब्बाका नत्थु विश्वकर्मामाथि कुटपिट भयो । चोरिएको साइकल फिर्ताका लागि जाँदा कुटाई खाएर फर्किएका नत्थुको भोलिपल्ट नोवेल अस्पताल विराटनगरमा ज्यान गयो । उनलाई कुटेर मार्ने साविक मेचीनगर–८ का बौदल लाम्गादे तत्काल फरार भए ।
मृतकका ससुरा रामबहादुर विकले घटना लगत्तै लाम्गादेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले उनलाई फेला पार्न सकेन । मृतक नत्थुकी श्रीमती चन्द्रिका न्यायका लागि पटक–पटक प्रहरीमा पुगिन् । प्रहरीले अभियुक्तको फोटो ल्याउनु भन्दियो । श्रीमान् मारिएको पीडाले विक्षिप्त भएकी चन्द्रिकाले फोटो ल्याउन सम्भव पनि थिएन ।

अहिले जस्तो प्रविधिको पहुँच थियो भने फोटो फेला पार्न असम्भव पनि थिएन । एकवर्ष, दुईवर्ष हुँदै श्रीमान् मारिएको १० वर्ष बितिसक्दा पनि हत्याका अभियुक्त लाम्गादे फेला पर्न सकेनन् । प्रहरीले पनि कुनै जानकारी दिएन । लामो समयसम्म नभेटिएपछि पीडित परिवारले न्याय पाउने आशा मारिसकेको थियो ।
तर अचानक प्रहरीले लाम्गादे घुमिरहेको सूचना पायो । प्रहरीले पीडित परिवारलाई पनि खबर दियो । अनि सहयोगका लागि अपिल पनि गर्यो । न्यायको पर्खाइमा १३ वर्ष बिताएको विक परिवार त्यो बेला उत्साहित भयो, जब असार ३० गते काँकडभिट्टा प्रहरीले लाम्गादेलाई इँटाभट्टाबाट पक्राउ गर्यो ।
‘यतिका वर्षपछि प्रहरीले मान्छे पक्राउ गर्दैछ भनेर सुन्दा मलाई पत्यार लागेन’, मृतककी श्रीमती चन्द्रिकाले बिहीवार जिल्ला प्रहरी कार्यालय झापामा भनिन्, ‘मैले आशा मारिसकेकी थिएँ, तर प्रहरीले अपराधीलाई छोड्दो रहेनछ । उसलाई जन्मकैद हुनुपर्छ ।’ श्रीमान्को हत्यापछि नाबालक छोराहरु हुर्काउन परेको सकस सम्झेर चन्द्रिका भावविह्वन भइन् ।
आफू बौदल लाम्गादे नभएको र आफ्नो नाम पून्यप्रसाद विश्वकर्मा रहेको भन्दै अभियुक्तले हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए । तर, प्रहरीले आवश्यक सबै प्रमाण जुटाएर उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) कृष्णप्रसाद कोइराला बताउँछन् । पक्राउ परेका अभियुक्तलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।

‘आफू होइन भनेर अभियुक्तले ढाट्ने छल्ने प्रयास पनि गरेका छन्’, एसपी कोइरालाले भने, ‘तर सबैतिरबाट उनको संलग्नता पुष्टि भएपछि पक्राउ गरेर कार्वाही प्रक्रिया अघि बढाएका छौँ ।’ प्रहरी उपरीक्षक कोइरालाले ढिलो चाँडो मात्रै हो, अभियुक्त कुनै हालतमा उम्किन नपाउने बताए ।
अभियुक्त लाम्गादेसँगै काठमाडौँमा गलैचा उद्योगमा काम गरेका राजेन्द्र विश्वकर्मा पनि उनले परिचय ढाँटेको बताउँछन् ।

