- मोरङ,असार ३१ गते बुधबार ।
- जन प्रभाब
कोरोना भाइरसका कारण नेपाल–भारत सीमा क्षेत्रमा सिल गरिएको भनिए पनि तस्करी भने रोकिएको छैन । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको तैनाथी व्यापकमात्रामा भए पनि तस्करी सुचारु भइरहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी सुचारु भएको सीमा क्षेत्रका वासिन्दाहरू बताउँछन् । तस्करी भएको सूचना बारम्बार प्रहरीका हाकिमहरुलाई दिँदा समेत उनीहरुले पक्राउ नगरेको कारण नै तस्करी संगठितरुपमा भएको र यसमा प्रहरी संरक्षण रहेको पुष्टि हुन्छ । विराटनगर भन्सार कार्यालयको तथ्यांकमा चालु आवमा केराउ, सुपारी, सुकमेल र छोहडाको आयात गतआर्थिक वर्षको तुलनामा ह्वात्तै बढेको देखिएको छ । तर मरिचको आयात घटेको देखिन्छ । सरकारले यस्ता मालवस्तुमा कडाइ गर्ने संकेत दिएको तीन महिनापछि मात्रै निर्णय ग¥यो ।
गतचैत १५ सम्म एलसी खोलिएका सुपारी, मरिच, केराउ, छोहडा, विदेशी रक्सी र ५० हजार डलरभन्दा बढीका गाडी गरी ६ वटा वस्तु जाँचपास गर्न र त्यसपछि एलसी खोलिएका भए जाँचपास नगर्ने निर्णय सरकारले गरेको थियो । यसबीच पुसको मध्यदेखि चैतको १५ सम्मको ३ महिनामा व्यवसायीले सामानको एलसी खोल्ने प्रशस्त अवसर पाएकाले जथाभावी मालसामान मगाएका हुन् । गतआर्थिक वर्षमा विराटनगर भन्सारबाट ७२ करोड २६ लाख मूल्यको १७ हजार १७७ टन केराउ आयात गरिएको थियो । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा १ अर्ब २९ करोड ८० लाख मूल्यको २८ हजार ८ सय ३५ टन केराउ आयात गरिएको छ । युक्रेन र क्यानाडाबाट केराउ आयात गरिन्छ ।
यसैगरी गतआर्थिक वर्षमा ७२ लाख मूल्यको ८७ टन छोहडा पाकिस्तानबाट नेपाल आयात भएको थियो । चालु आवको जेठ मसान्तसम्ममा १७ करोड ७५ लाख मूल्यको २ हजार ७२ टन छोहडा भित्रिसकेको छ । मलेसिया, सिंगापुर र थाइल्यान्डबाट पैठारी गरिने सुपारीसमेत गतआर्थिक वर्षमा ४१ करोड १० लाख मूल्यको ३ हजार १ सय २७ टन सुपारी आयात भएकोमा चालु आवको जेठ मसान्तसम्ममा ७५ करोड ५ लाख मूल्यको ५ हजार ४ सय ५३ टन आयात भइसकेको हो । ग्वाटेमालाबाट आयत गरिने सुकमेल गतआवमा ३५ हजार मूल्यको २ टन मात्र सुकमेल आयात गरिएकोमा चालु आवको जेठ मसान्तसम्ममा ७ करोड ४० लाख मूल्यको ५० टन सुकमेल आयात भएको हो । चालु आर्थिक वर्षको ११ महिनामा १ हजार ५९१ टन मरिच भियतनामबाट आयात भएको छ । यसको मूल्य ६६ करोड ३६ लाख हुन्छ ।
गतआर्थिक वर्षमा विराटनगर नाकाबाट १ अर्ब १४ करोड ४५ लाख मूल्यको २ हजार ७ सय ४५ टन मरिच आयात गरिएको थियो । यो तथ्यांकले मरिचको आयात भने घटेको छ । भारतमा मरिच प्रशस्त उत्पादन भएपछि नेपालबाट जाने मरिचको माग घटेका व्यवसायीहरूको भनाइ छ । मोरङ र सुनसरीका सीमा क्षेत्रका इलाकाबाट प्रहरीको मिलेमतोमा तस्करहरूले लाइन खुलेको छ । पछिल्लो समय बोर्डर क्षेत्रमा बसेर कारोवार गर्दै आएका कारोवारीले सशस्त्र र नेपाल प्रहरीका प्रदेश १ का डिआइजीहरूसँग तस्करीको लाइन लिएको बताइन्छ । लकडाउनकै क्रममा नेपाल प्रहरीका डिआइजी ईश्वरबाबु कार्की सरुवा भएर आएपछि तस्करहरूले उनलाई भेटेका थिए ।
तस्करी सुचारु भएको एक हप्ता बितिसकेको छ । मोरङका दरैया, मटेरुवा, तरिगामा, खयरबना, नोचा, मायागञ्ज, डाइनियाँ र रंगेलीबाट तस्करी भइरहेको छ भने सुनसरीको छिटाहा, भूटाहा, कप्तानगञ्ज, देवानगञ्ज र घुस्कीबाट तस्करी भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !