- धनुषा,असार २९ गते सोमबार ।
- जन प्रभाब
कमला नदीले धनुषाको सबैला, कमला र शहीदनगर नगरपालिकामा कटान सुरु गरेपछि ४ सय भन्दा घरधुरी जोखिममा परेका छन्। गत बिहीबारदेखि भारी वर्षा हुन थालेपछि कमला नदीले कटान गर्न सुरु गरेको छ ।

कमला नदीको बाढीले ठूलो जनधनको क्षति गर्न थालेपछि नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवले स्थलगत अवलोकन गरेका छन्। यादवले कमला नदीको बाढीले सबैला नगरपालिकाको वडा नम्बर ४ र १३; कमला नगरपालिकाकाको वडा नम्बर ५, ६, ७, र ८ र शहीदनगर नगरपालिकाको वडा नम्बर १ को बस्ती अवलोकन गरेका छन्।
हरेक वर्ष कमला नदीले धनुषाका तीन स्थानीय तहका वडाहरुमा सबैभन्दा धेरै क्षति गर्ने गरेको यादवले बताए। बाढीको बहाव बढ्दै गएकाले जनधनको क्षति हुन सक्ने भएकाले सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालय धनुषालाई यादवले सतर्क भई बस्न आग्रह गरेका छन्।


‘मनसुनी भारी वर्षा पर्न थालेपछि पहाडमा पहिरो र तराईमा बाढीले सताउन थालेको छ’, यादवले नेपाल लाइभसँग भने, ‘कमला नदीमा बाढीको बहाव बढ्दै गएको छ। अहिले कटान सुरु गरेकाले ठूलो जनधनको क्षति हुने सम्भावना छ। बाढी आउनुभन्दा अघि नै सतर्क हुनुपर्ने छ।’
कमला नदीको जोखिम भएका क्षेत्रमा तटबन्धनका लागि बजेट विनियोजन भए पनि रकम निकासा नहुँदा काम अलपत्र परेको यादवले बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया !