- वीरगंज,असार २८ गते आइतबार ।
- जन प्रभाब-सम्बादाता
वीरगंजमा लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेकाहरुको समस्या समाधान हुने भएको छ।
प्रदेश २ सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाले अबको एक महिना भित्र ४२ हजार चालक अनुमति पत्र बाँड्ने जानकारी दिएको छ।
पछिल्लो तीन महिनाको लकडाउनको कारण लाइसेन्सको छपाइमा तीव्रता तथा नयाँ सेवाग्राही नथपिएपछि लाइसेन्स वितरणको समस्या समाधान हुन लागेको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंज प्रमुख सुशील साह बताउँछन् ।
‘१७ हजार लाइसेन्स छापिएर आइसकेको छ, विस्तारै वितरण पनि शुरु भएको छ। अन्य २५ हजार जनाको स्मार्ट कार्ड लाइसेन्स एक साताभित्र यातायात व्यवस्था विभागबाट वीरगंज आइसक्ने छ,’ उनले भने।
लकडाउन खुकुलो भएसँगै असार १ गतेदेखि लाइसेन्स वितरण भइरहेको र लाइसेन्सको नवीकरणको काम बाहेक अन्य सेवा शुरु नभएको उनको भनाइ छ ।
विसं २०७४ असार १८ गतेदेखि २०७७ असार २५ गतेसम्म १ लाख २३ हजार ९ सय ४० जनाले परीक्षा पास गरी लाइसेन्सका लागि विभागमा अनुरोध गरिएकोमा गत बिहीबारसम्ममा १ लाख १० हजार १ सय २९ जनाको लाइसेन्स छाप्ने काम पूरा भइसकेको कार्यालय प्रमुख साहले जानकारी दिए ।
उनका अनुसार अब वीरगंज कार्यालयबाट जम्मा ११ हजार २ सय ३२ जनाको लाइसेन्स छपाइको काम मात्र बाँकी छ ।
लकडाउन अघि लाइसेन्सको सबै परीक्षा पास गरेको १५ महिनापछि मात्र लाइसेन्स छापेर वीरगंज आइपुग्थ्यो ।
लकडाउनले विभागमा लाइसेन्स छपाइको काम नरोकिएको र तीव्रता दिएपछि यस भेगका मानिसहरुको महिनौंसम्मको पखाई अन्त्य हुने देखिएको छ ।
कार्यालयका प्रमुख साहले ७ लाख १० हजारको लटसम्म लाइसेन्स छपाइ भएर आइसकेको हुनाले सेवाग्राहीले आफनो रसिद अनुसार कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !