- इटहरी,असार २८ गते आइतबार ।
- जन प्रभाब-सम्बादाता
राजस्व अनुसन्धान कार्यालय इटहरीले स्वस्तिका ट्रेडर्सले भारतबाट आयात गरेको एक ट्रक कपडा गत असार १६ गते पक्राउ गरेर कार्यालयकै प्रांगणमा राखेको हो ।
स्वस्तिका ट्रेडर्सका सञ्चालक र उनको व्यवसायको विस्तृत अध्ययन गर्ने भन्दै कार्यालयले विगत ११ दिनदेखि ट्रक रोकेर राखेको हो। ‘पैठारीकर्ता एवम् स्वस्तिका ट्रेडर्सका सञ्चालक सञ्जित भगतको सम्पूर्ण व्यवसायको हामी छानबिन गर्दैछौं,’ कार्यालयका प्रमुख वेदराज फुयाँलले भने, ‘हामी कम्पनीको स्टक, विक्री र बैङ्कको अवस्था सबै हेदैछौँ । त्यसैले ट्रक रोकेर राखेका हौं।’
व्यवसायी भगतले कार्यालयले ११ दिनदेखि ट्रक रोकेर आफूलाई ‘ह्यारेस’ गरेको प्रतिक्रिया दिए। भगतका अनुसार विराटनगर भन्सार कार्यालयलमा १२ लाख ८८ हजार ३ सय १५ रुपैयाँ राजस्व बुझाएर एक ट्रक कपडा उनले असार १६ गते छुटाएका थिए। को१ख ३७७४ नम्बरको उक्त ट्रकमा सुती सारी, चोलोका रुबिया कपडा र सुती प्रिन्ट कपडा छन्।
‘राजस्व अनुसन्धान कार्यालयले भन्सारले जारी गरेको प्रज्ञापन–पत्र र ट्रकमा भएका कपडा एक–एक गरेर परीक्षण गर्यो,’ व्यवसायी सञ्जितले भने, ‘अनुसन्धानमा कतै केही समस्या भेटिएन। प्रज्ञापनमा उल्लेख भएभन्दा धेरै कपडा थिएनन् र कम पनि थिएनन्। तर पनि ट्रक र कपडा दुवै रोकेर राखिएको छ।’
भगतले राजस्व अनुसन्धानले असार १६ गते नै विराटनगर–११ मा रहेको उनको कपडाको गोदाममा सिल गरेर अनुसन्धान पछि १७ गते साँझ खोलेको जानकारी दिए। ‘मेरो गोदामको पनि अनुसन्धान पूरा भएको छ, ट्रकका कपडा पनि सबै वैध निस्किएका छन्,’ उनको गुनासो थियो, ‘तर पनि राजस्वले ट्रक छाडिरहेको छैन।’
राजस्वले अझै गाडी रोकिरहे आफू कानुनी उपचारमा जाने उनले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !