- जनकपुरधाम,असार २३ गते मंगलवार ।
- जन प्रभाब-सम्बादाता
धनुषामा प्रहरीले मास्क नलगाउनेलाई सोमबारदेखि नै पक्राउ गरी कारबाही थालेको छ।
सोमबार दिउँसो गृहमन्त्रालयले घरबाहिर निस्किँदा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गरी संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न निर्देशन दिएको थियो। तर निर्देशन जारी हुनुअघि नै धनुषा प्रहरी कार्यालयले कारबाहीको प्रकृया अघि बढाएको हो।
सोमबार साँझसम्म त्यहाँ एक सय ६९ जनालाई समातेर कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।
धनुषामा केही दिन देखिनै मास्क लगाउन माइकिङ गरी जनचेतना फैलाएको थियो। तर त्यसको बावजुद पनि मास्क नलगाइ बाहिर निस्किनेको संख्या बढेपछि कारबाही गरेको डिएसपी कार्कीले बताए।
‘हामीले केही दिनअघि देखि नै माइकिङ गरी जानकारी गराएका थियौं,’ उनले भने, ‘तर नमानेपछि पक्राउ गरी संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्न थालेका हौं’ उनका अनुसार अहिले पनि पक्राउ पर्ने क्रम जारी नै छ।
‘अहिले पनि पक्राउ पर्ने क्रम जारी छ,’ उनले भने, ‘करिब एक सय जना थपिसकेका होलान्।’
पक्राउ पर्नेहरूलाई पहिलो पटकको लागि एक सय रूपैयाँ जरिवाना तिराएर छोडिएको उनले बताए।
ऐनमा भने एक सय रूपैयाँ वा एक महिना जेल सजाय अथवा दुबै हुन सक्ने लेखिएको छ। गृह मन्त्रालयले सोमबार देखि नै सबै जिल्लामा मास्न नलगाइ बाहिर निस्किए पक्राउ गरी कारबाही गर्न निर्देशन जारी गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !