- काठमाडौं ,असार २३ गते मंगलवार ।
- जन प्रभाब-सम्बादाता
सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरदेखि डीआइजीसम्मको सरुवा तयारी भइरहेको छ । सबैभन्दा बढी सरुवाको चलखेल एसपीमा भइरहेको छ । भारतसँग सीमा जोडिएका जिल्लाका गणमा सरुवा हुन एसपीहरुको दौडधूप चलेको छ । एसपी सरुवा हुन चाहने त्यस्ता गण १६ वटा छन् । १ नम्बर प्रदेशका झापा र मोरङ सबैभन्दा आकर्षक मानिन्छन् भने सुनसरी दोस्रो प्राथमिकतामा पर्दछ । एसपीहरुले झापा र मोरङमा सरुवा हुनका लागि शक्ति र प्रभाव दुवै प्रयोग गर्ने गर्दछन् ।
२ नम्बर प्रदेशमा पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी र बाराका गणमा जान प्रतिस्पर्धा चल्ने गरेको छ । त्यसपछि सिराहा र अन्तिममा सप्तरी प्राथमिकतामा पर्दछ । पश्चिमका पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लाका गण पनि आकर्षक मानिन्छन् । काठमाडौं उपत्यकाको बलम्बु र एयरपोर्टको गण पनि आकर्षकै मानिन्छन् ।
भारतसँग सीमा जोडिएका भन्सार नाकाहरुबाट भन्सारछली चोरी तस्करी गर्नेहरुबाट हुने लाभका कारण पनि यी जिल्लामा जान एसपीहरुको रुची बढी देखिने गरेको छ । सीमा जोडिएका जिल्लाका गणमा सरुवाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री, सचिव र सहसचिवहरुसम्मको भनसुन चल्ने गरेको छ । एसपीहरु बोलकबोल नै गरेर सीमा जोडिएका जिल्लामा सरुवा हुने गरेको चर्चा पनि सशस्त्रमा हुँदैआएको छ । सशस्त्रका आइजीपी शैलेन्द्र खनालले गणमा सरुवा हुन चाहने एसपीसँग मोलमोलाई गर्नका लागि कार्यदलका एसपी शंकर खनाललाई परिचालन गरेका छन् । स्रोतका अनुसार पुख्र्यौली घर आइजीपी खनालकै गृहजिल्ला गुल्मी नै भएका एसपी शंकर खनाल आइजीपीका पछिल्ला दिनमा विश्वासिला अधिकृतका रुपमा चिनिन्छन् । गणमा सरुवा हुन चाहनेहरुसँग ८० प्रतिशत आफैं डिलिङ गर्ने आइजीपी खनालले बाँकीसँग कुरा मिलाउन कार्यदलका एसपी खनाललाई दिएका छन् । साँघुमा समाचार छ ।
१ बर्ष पुगिसक्दा पनि डीआइजीको सरुवा भएन
सशस्त्रमा डीआइजीको सरुवा भएको १ बर्ष पुगिसकेको छ । सामान्यतया १ बर्ष पुगिसकेपछि डीआइजीको सरुवा हुने प्रचलन छ । तर सशस्त्र प्रहरी बलका आइजीपी खनालले एक बर्ष पुगिसक्दा पनि डीआइजीको सरुवा गरेका छैनन् । डीआइजीहरुको लागि अतिरिक्त कमाइका हिसाबले आकर्षक मानिए पनि २ नम्बर प्रदेशमा जान कसैले पनि रहर गरेका छैनन् । १ नम्बर प्रदेशका लागि बंशी दाहाल, ५ नम्बरमा राजेन्द्र बस्नेतको नाम चर्चामा छ ।
आइजीपी खनाल सचिवालयका डीआइजी प्रवीणकुमार श्रेष्ठलाई उपत्यकामा सरुवा गर्ने दाउमा छन् । तर उपत्यकामा भावी आइजीपीका दाबेदारलाई दिंदा संगठनको जीवनमा त्यसले लाभ पुग्ने कुरालाई पनि ख्याल गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने पक्षमा गृहमन्त्रालय छ । डीआइजी श्रेष्ठ भारतीय दूताबासमा सुटुक्क गएको बिषयले पनि उनी विवादमा परेका थिए । कूटनीतिक आचारसंहिता बिपरीत अनुमति नलिई २०७६ मंसिर ६ मा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित दूताबास पुगेका थिए । उनलाई आइजीपी खनालले नै पठाएकाले पनि समाचार सार्वजनिक हुँदा पनि कारबाही भएन । उल्टै सचिवालयको डिआइजीमा लगेर खनालले सम्मानित गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !