- बाँके,असार २१ गते आइतबार ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले तस्कर र दलालको बारेमा निर्धक्कका साथ कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेको छ । पत्रकारिता पेशा जहिले पनि अडिग भएर गर्नुपर्ने पेशा भएकाले तस्कर र दलालको विरुद्धमा निर्धक्क भएर कलम चलाउन उनले आग्रह गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस्तो बताएका हुन ।
महिना दिन अगाडी बाँके प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेका प्रजिअ कुरुम्वाङले तस्कर र दलालको दानापानी सुकाउनेगरी ढुक्क भएर समाचार लेख्न आग्रह गरे ।
तस्कर, दलाल तथा प्रहरी प्रशासन कसैले पनि केही गल्ती गरे उनिहरुको बारेमा निर्धक्कका साथ समाचार लेख्न प्रजिअ कुरुम्वाङले आग्रह गरे । ‘पत्रकारिता पेशामा आँच आउन नदिने खाले समाचार निर्धक्कका साथ संम्प्रेषण गरे हुन्छ’ – प्रजिअ कुरुम्वाङले भने ।
त्यसैगरी, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बाँकेमा आफू आएको १५ दिनमा धेरै सफलता प्राप्त गरेको बताए । बाँके जिल्लामा पत्रकारहरुको साथ सहयोगले काम गर्ने वातावरणमा सहजता भएको उनले बताए ।
हरेक दिन नयाँ कार्य गर्ने योजनाका साथ अघि बढेका एसपी रानाले पत्रकारहरुको योगदानले झनै काम गर्ने हौसला र उर्जा थपेको बताए ।
‘बाँकेका पत्रकारहरुको साथ, सहयोग र योगदानले काम गर्ने प्रेरणा थपेको छ, यसलाई मैले अवसरको रुपमा लिएको छु ।’ उनले भने ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव गजेन्द्र गुरुङ्गले बाँकेमा प्रजिअ र एसपी दुवैजनाको काम गर्ने आँटले बाँकेवासी खुसी भएको बताए । आएको दिनदेखि नयाँ नयाँ काम र काम गर्ने शैलीले जनजाति पत्रकार पनि हर्षित भएको उनले बताए । दुवैजना प्रमुख जनजाति त्यसमा पनि क्षमतावान व्यक्तित्व पाउनु सौभाग्य रहेको महासचिव गुरुङ्गले बताए ।
स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु, फोनिज बाँकेका संस्थापक सदस्य पुर्णलाल चुके, सल्लाहकार गोपी बुढामगर लगायतले मन्तव्य राखेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समिरमान श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रजिअ रामबहादुर कुरुम्वाङ र बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानालाई दोसल्लाले स्वागत र मायाको चिनो प्रदान गरिएको कार्यक्रमको संचालन फोनिज बाँकेका सचिव भगतराम थारुले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष सोम गुरुङ्गले गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !