- बाँके,असार २१ गते आइतबार ।
- जन प्रभाब-सम्बादाता
प्रहरी उपरीक्षक ( एसपी ) ओमबहादुर रानाको नेतृत्वमा रहेको बाँके प्रहरीलाई एक पछि अर्को ठूलो सफलता मिल्दै गएको छ ।
बाँके प्रहरीले शनिबार बाँकेको राप्तिसोनारी गाउँपालिकाबाट दुर्लभ ठूलो पाटेबाघको छाला र हड्डीसहित एक व्यक्ति पक्राउ गरेसङ्गै प्रहरीलाई अर्को ठूलो सफलता हात लागेको छ ।
शनिबार राप्तिसोनारी गाउँपालिका २ तितिनघारीका नवराज घर्तिमगरले आफ्नो मकै बारीमा लुकाई राखेको पाटेबाघको छाला र बाघको विभिन्न भागको हड्डी १० किलो ५ सय ग्राम सहित उनलाई पक्राउ गरेको एसपी रानाले जानकारी दिए ।
५ नम्बर प्रदेश अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको संयुक्त प्रहरी टोलीले ४६ बर्षिय घर्तिमगरलाई उनको आफ्नै घरबाट पक्राउ गरेको उनले बताए ।
‘प्रारम्भिक अनुसन्धानमा प्रकाश आचार्य समेतले बाँके राष्ट्रिय निकुञ्जको छेत्रमा उक्त बाघलाई गोली हानी मारेर निकालेको बुझिन आएको छ ।’ एसपी रानाले भने -‘सो बाघको छाला नवराज घर्तिमगरलाई सोही ठाउँ बस्ने आचार्यले शुक्रबार राख्न दिएको रहेछ, निजले बाघको छालालाई मकै बारीमा लुकाई राखेको पाइयो ।’
गाभर बस्ने नरे घर्ती भन्ने व्यक्तिले नबराजलाई सो बाघको छाला २४ लाखमा बिक्री गराईदिन्छु भनेर डिल गरेको खुल्न आएको उनले जानकारी दिए ।
उनले फरार रहेका प्रकाश आचार्य र नरे घर्ती भन्ने व्यक्तिलाई खोजतलास गरीरहेको बताए । पक्राउ परेका नवराज घर्तिमगर र बरामद गरिएको बाघको छाला र हड्डीलाई थप अनुसन्धानपछि कारवाहीकालागि डिभिजन बन कार्यालयमा बुझाइने एसपी रानाले बताए ।
बाँके प्रहरीले पाटेबाघको हड्डी र छालासहित शनिबार नियन्त्रणमा लिएको नवराज घर्तिमगरलाई आज सार्वजनिक गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !