- काठमाडौं ,असार २० गते सनिवार ।
- जन प्रभाब-सम्बादाता
भारतका प्रधानसेनापति नेपाली सेनाको र नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ प्रधान सेनापति हुने परम्परा रहेको छ । यसैगरी नेपाली सेनाका प्रधानसेनापति बेलायती सेनाका र बेलायती सेनाका प्रधानसेनापति पनि नेपाली सेनाको मानार्थ प्रधानसेनापति हुने परम्परा रहेको छ ।
प्रधानसेनापतिमा नियुक्त भएलगत्तै नेपाली सेनाका प्रधानसेनापतिले पनि पहिलो भारत भ्रमण गरेर भारतीय राष्ट्रपतिको हातबाट भारतीय सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्हसहित सम्मान प्राप्त गर्दछन् भने भारतीय सेनाको प्रधानसेनापतिमा नियुक्त भएलगत्तै पहिलो विदेश भ्रमणको क्रममा नेपाल भ्रमण गरेर नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्हसहित सम्मान ग्रहण गर्ने परम्परा रहि आएकाे छ ।
तर मनोज मुकुन्द नरवणे भारतीय सेनाको प्रधानसेनापति भएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि अहिलेसम्म उनले नेपाल आएर नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह राष्ट्रपति विद्या भण्डारीबाट ग्रहण गरेका छैनन् । नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह नलिएका भारतीय सेनापति नरवणेले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर नेपालले विदेशीको उक्साहटमा आएर कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेको भनेर आक्षेप लगाउँदै नेपालको आलोचना गरेका थिए ।
यसैगरी नेपाली सेनाको सेनापतिमा नियुक्त भएपछि भारतीय सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह भारतीय राष्ट्रपतिको हातबाट ग्रहण गर्न दिल्ली जाँदा प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटसमेत गराइएको थिएन । जबकि मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह राष्ट्र प्रमुखबाट ग्रहण गरेपछि दुबै देशका सेनापतिलाई प्रधानमन्त्रीसँग औपचारिक भेट गराउने परम्परा रहेको थियो ।
यसरी मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्न भारतीय प्रधानसेनापति नआउनु इतिहासकै पहिलो घटना भएकाे सैनिक स्राेतकाे दावी छ । यसले नेपाल–भारत सैनिक सम्बन्धमा खराब नजीर स्थापित गर्न पुगेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !