- रौतहट ,असार १८ गते बिहीबार ।
रौतहट इँटा भट्टा बम बिस्फोट काण्डका फरार प्रतिवादी निलम्बीत कांग्रेस सांसद मोहम्मद अफताब आलमका सहयोगी पक्राउ परेका छन् ।
श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताब आलमसमेत कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा मिति २०६४–१२–१७ गते १८ः३० बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरहदवा गा.वि.स वडा नं.४ हाल राजपुर नगरपालिका– ४ स्थित शेख ईद्रिसको गोठघरमा २०६४–१२–२८ गते हुने संविधान सभाको चुनावलाई लक्षित धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरुले विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा विस्फोट हुँदा जाहेरवाला श्रीनारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत समेत १५–१६ जना घाइते भएका थिए । सोही घटनामा २–३ जनाको मृत्यु भएकोमा ती मृतक १५–१६ जना घाइतेलाई ट्याक्टरमा हालेर नजिकैको राजा इँटा भट्टामा लगेर जलाएका थिए ।
उक्त घटनाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा रौतहटस्थित राजपुर नगरपालिका– ६ बस्ने शेष ईसलामका छोरा ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनपुरधामबाट खटिएको टोलीले आज बारा जिल्ला नेपाल–भारत सीमावर्ती क्षेत्र सिम्रोनगढबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।
पक्राउ गरिएका ती फरार अपराधीले अनुसन्धानको क्रममा घटनाका सबै घाइते र मृतकलाई मो. अफताब आलमकै निर्देशनमा बोरामा हालेर ट्याक्टरमा लोड गरी इँटा भट्टामा लगेर जलाएको बयान दिएको प्रहरी प्रवक्ता मिश्रले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !