रौतहट ,असार १८ गते बिहीबार । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी धिरज प्रताप सिंहको सक्रियतामा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन ।
रौतहट इँटा भट्टा बम बिस्फोट काण्डका फरार प्रतिवादी निलम्बीत कांग्रेस सांसद मोहम्मद अफताब आलमका सहयोगी पक्राउ परेका छन् ।
श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताब आलमसमेत कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा मिति २०६४–१२–१७ गते १८ः३० बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरहदवा गा.वि.स वडा नं.४ हाल राजपुर नगरपालिका– ४ स्थित शेख ईद्रिसको गोठघरमा २०६४–१२–२८ गते हुने संविधान सभाको चुनावलाई लक्षित धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरुले विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा विस्फोट हुँदा जाहेरवाला श्रीनारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत समेत १५–१६ जना घाइते भएका थिए । सोही घटनामा २–३ जनाको मृत्यु भएकोमा ती मृतक १५–१६ जना घाइतेलाई ट्याक्टरमा हालेर नजिकैको राजा इँटा भट्टामा लगेर जलाएका थिए ।
उक्त घटनाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा रौतहटस्थित राजपुर नगरपालिका– ६ बस्ने शेष ईसलामका छोरा ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनपुरधामबाट खटिएको टोलीले आज बारा जिल्ला नेपाल–भारत सीमावर्ती क्षेत्र सिम्रोनगढबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।
पक्राउ गरिएका ती फरार अपराधीले अनुसन्धानको क्रममा घटनाका सबै घाइते र मृतकलाई मो. अफताब आलमकै निर्देशनमा बोरामा हालेर ट्याक्टरमा लोड गरी इँटा भट्टामा लगेर जलाएको बयान दिएको प्रहरी प्रवक्ता मिश्रले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
त्यसैगरी ,
कर्तव्य ज्यान मुद्दामा साढे दुई वर्षदेखि फरार रहेका सिरहा मिर्चैया नगरपालिका–१ का एक जनालाई प्रहरीले २०७७ साल जेठ १८ गते आइतबार पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका ब्यूरो टोलि र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका– १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई पक्राउ गरेको हो।
सिराहाको मिर्चैया नगरपालिका – ११ सीतापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति पक्राउ गरेको हो। यादवसहितका दुईजनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका– १० प्रयागपुरका ३६ वर्षीय शशिभूषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भयो ।
घटनाका आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै पक्राउ गरेको थियो।
यसै क्रममा ,
रौतहटको राजपुर फरहदवा बमकाण्डका एक आरोपी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ब्यूरो टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर – ४ का ५५ बर्षीय मुक्ति साहलाई जेठ २५ गते आइतबार पक्राउ गरेको हो ।
भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका वडा नम्बर – ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनु भयो । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको उनले बताए ।
२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।
पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताउनुभयो । त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
‘न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्, अर्कोतर्फ अदालतले दोषी ठहर गरेका अपराधी समाजमा रहँदा आफूले गरेको सजाय कार्यान्वयन नहुँदा राज्य कमजोर छ भन्ने बुझिन्छ । व्यवस्था नै फितलो हुन जान्छ । त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाउने गरेका छौं, यसमा प्रहरी सफल पनि देखिएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !