- लहान,असार १८ गते बिहीबार ।
महेश चौधरी र संगिता कर्मचार्य पति–पत्नी हुन् । उनीहरु नेपाली काँग्रेस पार्टीसँग आवद्ध छन् । महेश लहान नगरपालिकाका पूर्व सभापति तथा सिरहा काँग्रेसका जिल्ला सदस्य र संगिता काँग्रेस भगिनी संगठन नेपाल महिला संघकी केन्द्रिय सदस्य हुन् । दुवै जनाले लकडाउनका कारण रोजगारी गुमाएका विपन्न, गरिब र दलित बस्तीमा निरन्तर राहत पु¥याउन सक्रिय भएका छन् ।

उनीहरुको जोडीले लकडाउनको अवधिभर लहान नगरको २४ वटै वडामा राहत लिएर पुगेका छन् पछिल्लो समय धान दिवसको अवसरमा लहान नगरपालिका १३ र २४ का एक सय गर्भवति महिलालाई राहत स्वरुप आप, दही र चिउरा खुवाएका छन् । पहिलो चरणमा चामल, दाल, तेल, नुन बस्ती–बस्ती पु¥याएका उनीहरु दोस्रो चरणमा गर्भवति, सुत्केरीलाई पौष्टिक आहार वितरण गर्ने कार्यक्रम चलाएका छन् ।
बस्ती बाहेक लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल बितरण गरेका छन् । लकडाउन अवधिभरमा २२ सय भन्दा बढी परिवार राहत पु¥याएको उनीहरु बताउँछन् ।
कोरोना भाइरस(कोभिड–१९)को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन् । त्यसको सय दिन भन्दा बढी बित्न लाग्यो । लकडाउनमा सबभन्दा बढी असर तिनलाई परेको छ, जो दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँथे । दलित बस्तीका स्थानीय र भारतबाट फर्केका कामदारहरुले काम पाइरहेका छैनन् । आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भएको छ ।

सरकारको राहत लहान नगरपालिकाले यस अवधिमा एक पटक मात्रै २० किलो दरले विपन्न परिवारलाई राहत वितरण गरेको थियो । त्यतिले हप्तादिन पनि गरिब परिवारले छाक टर्न सकेनन् । सरकारले लकडाउन थप्दैँ गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन् । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौँ धौँ परिरहेको छ । गाउँमा ऋण सापटी गरी जसोतसो छाक टार्छन् ।
लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पु¥याउने चौधरी दम्पति दिनचार्य नै बनाएका थिए । हरेक दिन एउटा एउटा बस्ती पुग्थे । राहत बाड्थे । ‘हामीले यस क्षेत्रका साँसद प्रदीप गिरीकहाँ क्षेत्रभरिमा राहत बाड्नुपर्ने प्रस्ताव लिएर गएका थियौँ,’ चौधरीले भने,‘गिरीले दिएको सुझाव अनुसार हामीहरु राहत बितरणमा सक्रिय भएका छौँ । उहाँले पनि हामीलाई सहयोग गर्नुभएको छ ।’ साँसद गिरीलाई भेट्दा उनीहरुलाई राहतका लागि सरकारको मुख मात्रै ताकेर हुँदैन् । स्थानीय स्तरका नेता कार्यकर्ताले थोरबहुत राहत संकलन गरी विपन्न बस्तीमा बाड्नु पर्ने सुझाएका थिए ।
उनीहरुलाई राहत बाड्नका लागि उनको मनकारी साथीभाईले चामल, दाल, तरकारी, नुन र तेल सहयोग पनि गर्छन् । त्यसमा आफ्नो तर्फबाट थपेर उनीहरु गाउँगाउँमा बाड्छन् । व्यक्तिगत रुपमा ७ लाख भन्दा बढी रुपैयाँको चामल, दाल, तरकारी बाडेको उनले बताए । २ सय क्युन्टल चामल बितरण गरेको उनीहरुले जानकारी दिए ।
‘राहत पाउँदा विपन्न समुदायले आफुहरुलाई फुल दिएर स्वागत गर्छन्,’ कर्मचार्यले भनिन,‘ उनीहरुको अनुहारमा देखिएको उज्यालोपनले राहत बितरण गर्न थप हौसला पाइरहेको छौँ ।’ संकटको बेला मनकारीहरुले समस्यामा परेकाहरुलाई सहयोग गर्नुपर्ने भावन जागृति गर्नुपर्ने उनीहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !