- काठमाडौं ,असार १७ गते बुधबार ।
- जन प्रभाव-सम्बादाता
खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङमा कार्यरत आयोजना प्रमुख (सीडीई) राजकुमार शाक्यले गैरकानुनी रुपमा ११ करोड सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार २०७५–०७६ मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ आसारमा विभिन्न ठेक्केदारसँग करिब पचास लाख खातामा राख्न लगाई बील भुक्तानी गरेको साथै स्रोत नखुलेको सम्पति आर्जन गरेकोले छानविन गरी कारवाही गरिपाउँ भन्ने उजुरीउपर अनुसन्धान गर्दा उनले करिब ११ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न सकेन ।
२०४९ जेठ २ गतेदेखि जिल्ला खानेपानी कार्यालय, कञ्चनपुर, महेन्द्रनगरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरी २०६४ माघ १ देखि इन्जिनियर पदमा र २०७२ कात्तिक १० देखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका हुन् शाक्य ।
उनी निजामती सेवामा प्रवेश पश्चात खानेपानी तथा ढल व्यवस्थापन अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत रहँदै विभिन्न आयोजना प्रमुखको जिम्मेवारीमासमेत रहेका थिए ।
सार्वजनिक सेवामा प्रवेश पश्चात् शाक्यले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै भान्जी नाताकी व्यक्तिका नाममासमेत जग्गा खरिद गरी लुकाई छिपाई राखेको, आफू तथा आफ्नो परिवारको नाममा विभिन्न बैँक तथा वित्तिय संस्थाहरुमा खाता खोली मुद्दती निक्षेपमा अवैध रकमहरु राखेको, उक्त मुद्दती निक्षेपहरु परिपक्व नहुँदै सोही मुद्दती निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिहरुलाई लगानीसमेत गरेको देखिन आएको अख्तियारले जनाएको छ ।
अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले दिएको बयान अनुसार शाक्यले सार्वजनिक सेवामा प्रवेश देखि २०७६ फगुन मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही जम्मा रु. १ करोड करोड ६१ लाख ७३ हजार ५ एकसठ्ठी रुपैयाँ आय आर्जन गरेको देखिन्छ । अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा शाक्यले १२ करोड ३९ लाख २४ हजार ४ सय १४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ । यो विवरण अनुसार उनले आयको अनुपातमा रु. १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ बराबर सम्पत्तिको आयस्रोत उनले देखाउन नसकेको आयोगको अनुसन्धानमा देखिएको छ ।
यो सम्पत्तिको स्रोत खुल्न नसकेपछि अख्तियारले सीडीई शाक्यबिरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१०) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले १० करोड ७७ लाख ५० हजार चार सय त्रिपन्न रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
त्यस्तै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम राजकुमार शाक्यले प्रभा शाक्यको नाममा २०७६ पुस ८ मा खरिद गरी राखेको ललितपुर उपमहानगरपालिका वडा नं. १३ (साविक वडा नं ४) स्थित कि.नं ६५६ को क्षेत्रफल ४ आना २ पैसा जग्गा उनले आयोगमा संक्षिप्त सम्पत्ति विवरण फारम बुझाएकै दिन अर्थात् २०७६ माघ १२ मा मा अल्का शाक्यको नाममा रहेको उक्त जग्गाको स्वामित्व प्रभा शाक्यको नाममा परिवर्तन गरेका थिए ।
विस्तृत अनुसन्धानको क्रममा आयोगमा २०७७ बैशाख १५ मा पेश गरेको विस्तृत सम्पत्ति विवरणमासमेत उल्लेख नगरी गैरकानूनी सम्पत्ति आर्जन गरी सिर्जना गरेको सम्पत्ति जग्गा लुकाउने छिपाउने उद्देश्यले श्रीमतीको नामबाट अन्य व्यक्तिको नाममा स्वामित्व परिवर्तन गरी अनुसन्धानको क्रममा पेश गरेको सम्पत्ति विवरणमासमेत नखुलाई बदनियतपूर्ण तरिकाले गैरकानूनी सम्पत्ति लुकाउने छिपाउने कार्य गरी शाक्यले प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १६ को उपदफा ९२० बमोजिमको कसुरसमेत गरेको पुष्टि हुन आएकाले उक्त सम्पत्ति बमोजिम जफत गर्न माग गरिएको छ ।
आयोगले शाक्यकी श्रीमती अल्का शाक्य र भान्जी नाताकी प्रभा शाक्यसमेतलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !