- काठमाडौँ,असार १४ गते आइतबार ।
सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको जनशक्ति भारतीय सीमा क्षेत्रमा मात्रै केन्द्रित थियो । नेपालको तीनतिर भारतीय सीमा रहेका कारण अहिलेसम्म सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा आफ्नो सुरक्षा केन्द्रित गरेको थियो । चीनसँगको सीमा हिमालीक्षेत्र परेका कारणले पनि धेरै विवाद नहुने र जनशक्ति खटाउँदा खटिँदासमेत असहज अवस्था हुने भएपछि यसअघि सशस्त्रको जनशक्ति चीनसँगको सीमामा खटिएको थिएन । तर, अहिले आएर सशस्त्र प्रहरी बलले भने चीनसँगको सीमामा पनि आफ्नो उपस्थिति देखाएको छ ।

खासगरेर दार्चुलामा नेपाली भूमि अतिक्रमण गरी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि उत्पन्न विवादपछि सशस्त्र प्रहरी बल दार्चुलाको दुर्गम छाङ्गरुमा आफ््नो बिओपी स्थापना गरेको थियो । यही बिओपीको स्थापनासँगै सशस्त्र प्रहरीले चीनसँगको सीमा सुरक्षाको निगरानी र सीमा क्षेत्रमा गस्ती पनि गर्न थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती सुरु गरिसकेको छ ।
गतवैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म पुगेको हो । छाङ्गरुमा सशस्त्र प्रहरीको निरीक्षकको कमाण्डमा २५ जनाको टोली रहेको छ । उक्त टोलीले पहिलो पटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका डिएसपी दीपक विष्टले सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

अहिले सो बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वमा टोली रहेको र सोही टोलीले १ नम्बर पिलरसम्मको गस्ती गरेको हो । सोही सीमाक्षेत्रको र बिओपीको निरीक्षण गर्न गतअसार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल छाङ्गरुस्थित बीओपीको निरीक्षण गर्न पुगेका थिए । यसैगरी चीनसँगको सीमा रेखदेखकै क्रममा सशस्त्र प्रहरी बलले अन्य ठाउँमा पनि बिओपीको स्थापनासँगै आफ्नो गस्ती बढाएको छ । संखुवासभाको किमाथांका र मुस्ताङको लोमान्थाङमा बोर्डर आउट पोष्ट (बीओपी) यसअघि नै राखिसकेको भए पनि हुम्लाको हिल्सा नाकामा भने पछिल्लो पटक बीओपी स्थापना गरेको हो ।

नाम्खा गाउँपालिका– ५, हिल्सामा पहिलो पटक औपचारिक कार्यक्रम गरेर सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको हलचोक मुख्यालयले जानकारी दिएको छ । सशस्त्र प्रहरी बलको सुर्खेतस्थित ६ नम्बर महेश्वरी बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) प्रजाभक्त श्रेष्ठले उक्त बीओपीको औपचारिक उद्घाटन गरेका थिए । बीओपीमा सशस्त्र प्रहरी बलको हुम्लास्थित ४४ नम्बर गुल्मका इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली राखिएको छ । यसअघि गतजेठ ११ मा हुम्लाबाट इन्स्पेक्टर मोहन विष्टको नेतृत्वमा २५ जनाको टोली हिल्सा पुगेको थियो । बीओपीले सीमा सुरक्षासँगै आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गरिरहेको छ ।
आफ्नो भवन नभएका कारण भाडामा लिएर बिओपी सञ्चालनमा रहेको छ । बिओपीका लागि जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गरिने डिआइजी श्रेष्ठले जानकारी दिएका छन् । अब सशस्त्र प्रहरीले ताप्लेजुङको ओलाङ्चुङगोलामा पनि बीओपी राख्ने तयारी गरिरहेको सशस्त्रका प्रवक्ता प्रविणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी दाङ जिल्लाका हकमा पनि सशस्त्र प्रहरीले सीमा क्षेत्रको ९ स्थानमा आफ्नो उपस्थिति देखाएको छ । एक वर्षअघिसम्म दाङको नेपाल–भारत सीमामा एउटा मात्रै सशस्त्र प्रहरीको क्याम्प थियो । जबकि दाङ जिल्लामा मात्रै नेपाल–भारत सीमा क्षेत्र ८३ किलोमिटर पर्दछ । लकडाउनका बेला सीमा क्षेत्रबाट संक्रमितहरू लुकिछिपी नेपाल भित्रन सक्ने र प्रकोप बढ्न सक्ने भन्दै सशस्त्रले सीमा क्षेत्रमा थप सुरक्षा पोष्टहरू तैनाथी गरेको हो । कोयलावासपछि अहिले सुनपथरीसहितका ९ स्थानमा अस्थायी पोष्टहरू खडा गरी सशस्त्र प्रहरी खटिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !