- काठमाडौं ,असार ११ गते बिहीबार ।
कोरोना भाइरसको महामारीले लकडाउन हुँदा पनि चोर्न पल्केका चोरहरू आफ्नो धन्दा छोड्दैनन् भन्ने कुरा लकडाउनको यो अवधिमा उपत्यकामा धेरै सवारी साधनहरू चोरिएका घटनाले पनि पुष्टि गर्दछ । सवारी साधन विशेषगरी मोटरसाइकल हराएका उजुरीहरू यस बीचमा प्रहरी र ट्राफिक प्रहरी कार्यालयहरूमा परिरहेका थिए ।

ट्राफिक प्रहरीको चोरी नियन्त्रणको युनिट भने आफ्नो कार्यमा क्रियाशील थियो भन्ने कुरा लकडाउनका अवधिमा हराएका ३० वटा मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई बुझाएको घटनाले पुष्टि गर्दछ । मंगलवारमात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले ३० वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएका छन् ।
चोरी नियन्त्रण एवं अनुसन्धानका लागि महाशाखाबाट सादा पोसाकमा प्रहरीहरू खटिँदै आएका छन् । उक्त टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरू लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको एसएसपी ढकालले जानकारी दिए । ढकालका अनुसार उपत्यकाका म्हैपि, बालकोट, कीर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकण्ठ, गोकर्णेश्वर, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्वर, ट्रमा सेन्टर, महाराजगञ्ज, नयाँबस्ती, पशुपति पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावहिललगायतका विभिन्न स्थानबाट ती मोटरसाइकलहरू हराएको एसएसपी ढकालले जानकारी थिएका थिए ।
महाशाखाबाट खटिएको सिभिल टोलीले ती मोटरसाइकलहरू बरामद गरी सम्बन्धित धनीलाई बुझाएको उनले बताए । ढकालको भनाइ थियो– पार्किङ्ग स्थल, समारोह, अस्पताललगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेटबाहिर, लामो समयसम्म पार्किङ्ग गरिने स्थानहरूमा असुरक्षित पार्किङ्ग गरेर, अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनी लापरवाही गरेर मोटरसाइकल बढी चोरी हुने गरेको छ । सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलार्मलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनी ढुक्क नपर्न, एकै छिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्नसमेत एसएसपी ढकालले उपभोक्तालाई सचेत गराएका छन् ।
मंगलवार महाशाखा प्रमुख ढकालले– श्यामबहादुर खाती, बालकृष्ण श्रेष्ठ, दिपेन्द्र कुँवर, रिना मगर, सञ्जय महतो, धनकुमार चेम्जोङ, विश्वकुमार बस्नेत, रोजन श्रेष्ठ, अनिल थापा, पुरन राई, रामकुमार थापा, मिलन सुनुवार (सिन्धुली), संघर्ष स्वर्णकार, मिमांसा महर्जन, बमबहादुर विश्वकर्मा, अन्तप्रसाद श्रेष्ठ (पाल्पा), रामकुमार शाही, बेलबहादुर सिजाली, दिपेन्द्र प्रधान, नेश थापा, राधाकृष्ण थुवाजु, ओमकृष्ण खड्गी, राजकुमार कार्की, अनिल लामा, आशिष साउद, राजकुमार मगर, विक्रम केसी, गणेशकुमार गिरी, वोजराज श्रेष्ठ र कुमार तामाङका व्यक्तिहरूलाई बरामद भएको मोटरसाइकल जिम्मा लगाएका थिए । यसैबीच महाशाखाले यस आर्थिक वर्षमा चोरी भएका ३०८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको समेत एसएसपी ढकालले जानकरी दिए ।

















