- सप्तरी ,असार ११ गते बिहिवार ।
आज बिहानैदेखि परेको निरन्तर वर्षाले कतै आवागमन अवरुद्ध बनाएको छ भने कतै घर घरमा पानी पसेर जनजिव कष्टकर बनाएको हो । ढल निकास नहुँदा वर्षाको पानी जमेर राजविराज नगरपालिका वडा नं ५ स्थित मिथिला टोल र राजविराज ८ हिमालय टोलमा आवतजावत प्रभावित बनेको हो ।

सडक डुवानमा पर्दा ती टोलहरुमा आमसर्वसाधारणलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । यस्तै हुलाी मार्गको जमुनी मधेपुरा सडकखण्डमा दुई फिसम्म पानी जम्दा यातायातका साधन चल्न सकेको छैन भने सर्वसाधारणलाई सदरमुकामसम्म पुग्न समस्या भएको स्थानिय जिवछ दासले जानकारी दिए ।
सदरमुकाम राजविराजको सिरहा रोड, राजदेवी रोड, हिमालय टोल र मिथिला टोल आसपास वर्षाको पानी जम्दा सर्वसाधारणलाई निकै नै समस्या भएको छ । राजविराज ५ स्थित मिथिला टोलका आधा दर्जन घरमा समेत पानी छिरेको छ । निकास नहुँदा वर्षेणी समस्या हुँदै आएको स्थानिय अजित ठाकुरले बताए ।
यता बाढीले सर्वाधिक जनधनको क्षति हुने गरेको तिलाठी कोइलाडी गाउँपालिकामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक रणनीति बनाउन जुटेको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए । हामी हाइअलर्ट अवस्थामा छौं, उनले भने, ‘विपद् व्यवस्थापन मार्फत स्थितिको आकलन गर्दै आवश्यक गृहकार्य भइरहेको छ ।’ उनले खाँडो खोलाको बाढीले वर्षेणी दुःख दिने गरेको बताउँदै यसपल्ट गाउँमा बाढी पस्न नदिन उपलब्ध साधन श्रोतको उच्चतम परिचालन गर्ने तयारी गरिएको बताए । स्थानिय प्रशासनले पनि बाढीको सम्भावित जोखीमलाई ध्यानमा राख्दै हाइअलर्ट अवस्थामा रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !